पाल्पा जेसीज तानसेनको ४५औँ पद हस्तान्तरण समारोह सम्पन्न
तानसेन-पाल्पा जेसीज तानसेनको ४५औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ । युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको जेसीजले विभिन्न सामाजिक तथा नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले जेसीजले युवाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आफू सन् १९८० मा जेसीजको सदस्यको रूपमा प्रवेश गरेको स्मरण गर्दै जेसीजले व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा आत्मबल वृद्धि गर्न सहयोग पुर्याएको अनुभव साझा गर्नुभयो। नगर प्रमुख श्रेष्ठले युवाहरूको सकारात्मक क्षमताको विकासमा जेसीजले निरन्तर योगदान पुर्याउँदै आएको भन्दै आगामी दिनमा पनि समाज र राष्ट्र निर्माणमा जेसीजको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जेसीज वर्ष १९८२ का अध्यक्ष बुद्धि प्रसाद शर्माले जेसीजले युवाहरूलाई नेतृत्व, अनुशासन र सामाजिक सेवामा अग्रसर बनाउने महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय सरकारसँग सहकार्य गर्दै युवाहरूलाई स्वरोजगारमुखी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, मानार्थ सदस्य तथा जेसीज वर्ष २०११ का अध्यक्ष शैलेन्द्र भट्टराईले युवाहरूलाई उद्यमशीलता र रोजगार सिर्जनामा केन्द्रित नीति आवश्यक रहेको बताउँदै स्थानीय सरकारले युवामैत्री कार्यक्रमहरू विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
सिदार्थ जेसीज वर्ष २०२५ का अध्यक्ष अर्जुन कुँवरले जेसीजबाट उत्पन्न नेतृत्वहरूले विभिन्न संघ–संस्था तथा सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले जेसीजलाई नेतृत्व उत्पादन गर्ने विद्यालयका रूपमा चित्रण गर्दै यस संस्थाले युवाहरूलाई मार्गदर्शन र अवसर प्रदान गर्दै आएको बताउनुभयो । साथै, सिदार्थ जेसीजले पाल्पा जेसीजलाई मातृत्व प्रदान गरेको उल्लेख गर्दै पाल्पा जेसीजले भविष्यमा पनि सफल व्यक्ति र नेतृत्व उत्पादन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्य, समाजसेवी, तथा सहयोगी संस्थाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पद हस्तान्तरण समारोहअन्तर्गत नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो । नयाँ कार्यसमितिले युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षण लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । नवनिर्वाचित अध्यक्ष महेश खनालले यस वर्षलाई “तालिम वर्ष” का रूपमा अगाडि बढाउने बताउनुभयो । उहाँले युवाहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सीप अभिवृद्धि गर्न लक्षित विभिन्न क्षमता विकास तालिम कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । जेसीज सदस्यहरूलाई प्रभावकारी नेतृत्व, सञ्चार सीप, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्व सम्बन्धी तालिम प्रदान गरी दक्ष र जिम्मेवार नेतृत्व उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । साथै, संस्थालाई अझ सशक्त र परिणाममुखी बनाउने गरी प्रशिक्षणमुखी गतिविधिहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जेसीजका पुर्व अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जेसीज सदस्यहरूकाे सहभागिता रहेको थियो । वक्ताहरूले जेसीजले युवाहरूलाई जिम्मेवार नागरिक बनाउने र समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्ने संस्था भएको उल्लेख गर्दै युवाहरूलाई जेसीजमार्फत नेतृत्व विकासमा सहभागी हुन आग्रह गरेका थिए । पाल्पा जेसीजले वर्षदेखि युवाहरूको क्षमता विकास, सामाजिक चेतना अभिवृद्धि तथा समुदाय विकासमा योगदान पुर्याउँदै आएको छ । संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, उद्यमशीलता विकास लगायतका क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि समाजको आवश्यकता अनुसार कार्यक्रम विस्तार गर्दै जाने प्रतिबद्धता संस्थाले जनाएको छ ।








































Comments