पाल्पा जिल्लास्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
पाल्पा — पाल्पा जिल्लास्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि तानसेनको टुडिखेल मैदानमा भव्य रूपमा सुरु भएको छ । जिल्लाका सबै १० वटै स्थानीय तह — २ नगरपालिका र ८ गाउँपालिकाका उत्कृष्ट खेलाडीहरूको सहभागितामा सुरु भएको प्रतियोगिताले जिल्लास्तरमा खेलकुदलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले गर्नु भयो । उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका सांसद रानाले विद्यार्थीहरूलाई खेलमार्फत अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न सकिने भन्दै यस्ता प्रतियोगिताहरूको निरन्तरता आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले स्थानीय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई चिनाउने मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर समेत दिने बताउनभयो । खेलकुद क्षेत्रमा सरकारको लगानी र स्थानीय तहको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले यस्ता प्रतियोगिताले खेलाडीहरूलाई स्वस्थ प्रतिस्पर्धा र शारीरिक विकासमा सहयोग पुर्याउँने बताउनुभो । कार्यक्रममा प्रवक्ता यादवसिंह कार्कीले तानसेन नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराई, प्रमुख शिक्षा अधिकारी प्रेमराज खरेल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको पहिलो चरणमा नगर तथा गाउँपालिकास्तरमा छनोट भएका खेलाडीहरू जिल्लास्तरीय उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीहरूलाई प्रदेशस्तरमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ । प्रतियोगिता आगामी जेठ २२ गते टुडिखेल मैदानमा जारी रहनेछ ।कार्यक्रम खेलकुद विकास लुम्बिनी प्रदेशका सदस्य राजु महर्जनकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।








































Comments