पाल्पा–बुटवल सडक खण्ड बिहान ६ बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन !

पाल्पा–बुटवल सडक खण्ड आजदेखि सञ्चालनमा आएको छ । हालसम्मको वर्षाले सडकका केही स्थानमा सानो क्षति पु¥याए पनि एकतर्फी रूपमा सवारीसाधन चलाउन सकिने अवस्था रहेकाले आजदेखि बिहान ६ बजेदेखि साँझ ५:३० बजेसम्म सवारी आवतजावत खुला गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यही असोज १८, १९ र २० गते देशका धेरै भागमा मनसुन सक्रिय रहने र प्रदेश नं. १, २, वाग्मती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना व्यक्त गरेको थियो। बाढी, पहिरो र डुवान जस्ता मनसुनजन्य विपद्का जोखिम बढ्न सक्ने भन्दै विभागले सचेत रहन आग्रह गरेको र त्यसको आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको थियो ।

 

त्यसै निर्देशनको आधारमा जिल्ला प्रशासन कार्यालय पाल्पाले सुरक्षाका सबै निकायहरू, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, नागरिक समाज, निजी क्षेत्र र सरोकारवाला निकायहरूलाई पूर्व तयारीमा रहन आग्रह गरेको थियो। सम्भावित विपद्का जोखिम कम गर्न तथा आवतजावतमा समस्या नआओस् भन्ने उद्देश्यले पहिरो प्रभावित क्षेत्रहरूमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहको सहकार्यमा निरन्तर अनुगमन र मर्मत कार्य भइरहेको थारुले बताउनुभयो ।

 

थारुका अनुसार हाल पाल्पा जिल्लाभित्रका सडकहरूमा ठूला क्षति नपुगेको र प्रभावित स्थानहरूमा समेत एकतर्फी रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था रहेकाले बिहान ६ बजेदेखि साँझ ५:३० बजेसम्म सवारीसाधन चलाउने अनुमति दिइएको हो। यस क्रममा यात्रु तथा चालकहरूलाई विशेष सावधानी अपनाउन र जोखिमपूर्ण स्थानमा अत्यावश्यक नपरी सवारी रोक्न वा गति कम गर्न अनुरोध गरिएको छ।

विशेषगरी पाल्पा–बुटवल सडक खण्ड हुँदै स्याङ्जा, अर्घाखाँची, गुल्मी लगायतका जिल्लातर्फ जाने तथा आउने सवारीसाधनहरूलाई लक्षित गर्दै यो निर्णय गरिएको हो । सडकको सुरक्षित सञ्चालनका लागि प्रहरी, ट्राफिक र स्थानीय तहले संयुक्त रूपमा निगरानी बढाएका छन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले भने यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न, जोखिमपूर्ण स्थानहरूमा नजान र विपद्को सम्भावना देखिएमा तुरुन्तै नजिकको प्रहरी वा प्रशासन कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ ।

Comments