पाल्पा आवासीयका विद्यार्थी सामाजिक सेवा अभियानमा सक्रिय

पाल्पा आवासीय माध्यमिक विद्यालयका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूले शैक्षिक अवलोकन भ्रमणको क्रममा विभिन्न स्थानमा पुगेर सामाजिक सेवा तथा सहयोग प्रदान गरेका छन् । विद्यार्थीहरूमा मानवता, सहानुभूति र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले विद्यालयले सुरु गरेको यो अभियान सामाजिक उत्तरदायित्व हो । 

 

यसअघि कक्षा ९ र १० का विद्यार्थीहरूको भ्रमण समूहले निल सागर सेवा आश्रममा सहयोग गरेको थियो । त्यस्तै, २ दिनअघि कक्षा ४ र ५ का विद्यार्थीहरूले दमकडा मा विका फरक क्षमता भएका विद्यार्थी तथा पाल्पा सि वि आरमा रहेका फरक क्षमता भएका बालबालिकाहरूलाई आवश्यक सामग्री सहयोग गरेका थिए, जसले उनीहरूमा खुशी र प्रोत्साहन जगाएको विद्यालयले जनाएको छ । 

 

विद्यालयका सहायक प्रधानाध्यापक सुमन न्यौपानेले यस्ता सामाजिक सेवा गतिविधिले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, सेवा भावना र मानवीयता बुझ्ने क्षमतामा वृद्धि हुने बताउनुभयो  । उहाले विद्यार्थीको सर्वांगीण विकासका लागि सामाजिक उत्तरदायित्वअनुकूल कार्यक्रम अपरिहार्य भएकाले यो अभियान अझ सशक्त रूपमा अघि बढाइने बताउनुभयो  । विद्यार्थीहरूले चामल,तेल र नगद हस्तान्तरण गरेका हुन । 

 

सहयोग प्राप्त गरेको सस्था पाल्पा सी भी आरका प्रमुख कृष्ण गहतराजले फरक क्षमता भएका बालबालिकाहरूका लागि विद्यार्थीहरूले देखाएको माया र सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालय परिवारलाई धन्यवाद दिनुभयो । उहाले यस्ता गतिविधि बालबालिकाको आत्मविश्वास वृद्धि गर्ने महत्वपूर्ण माध्यमका रूपमा देखिएको बताउनुभयो  । 

Comments