पालिकामा चुस्तदुरूस्त र सहज सेवा प्रदान गर्न‘नागरिक सहायता कक्ष’ स्थापना गरेका छौ ।

पाल्पा – कुनै पनि सेवाप्रदायक निकाय वा अङ्गले नागरिकहरुलाई चुस्तदुरूस्त र सहज सेवा प्रदान गर्नका लागि विभिन्न कार्ययोजनाहरु तयार गरी लागू गरेको देखिन्छ । मुलुकका सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारण जनतालाई उपलब्ध गराउन, कानुनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनजस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनुपर्ने सेवा छिटोछरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न नेपालमा सुशासन (व्यवस्थापन तथा सञ्चालन)ऐन २०६४ को व्यवस्था भई सुशासनका लागि गरिएका विभिन्न व्यवस्थामध्येको एक नागरिक सहायता कक्ष हो ।



नागरिकका गुनासो सुन्न रैनादेबी छहरा गाउँपालिकाले कार्यालय परिसरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ ।  नागरिक सहायता कक्षको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले उद्घाटन गरे । नागरिकलाई सहज सेवा प्रदान गर्ने अवधारणाअनुसार स्थापना भएको सहायता कक्षबाट नागरिकहरूले महसुस गर्ने गरी सेवा उपलब्ध गराउने उधेश्य रहेको गाउँपालिका  अध्यक्ष भट्टराईले बताए   

 

 नागरिक सहायता कक्षमा गाउँपालिकाले छुट्टै कर्मचारीको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए । अधिकृत तिमिल्सिनाका अनुसार सहायता कक्षबाट हाल सेवाग्राहीहरुको कागजपत्र मिलाईदिने, निवेदन लेखिदिने लगायत आवश्यक सेवा अनुसार परामर्शको काम समेत गरिने गरेको छ । यस्तै गाउँपालिकाले निःशुल्क फोटोकपी गरिदिने समेत व्यवस्था गर्न लागिएको उनले बताए  । 

 

गाउँपालिकाको नागरिक सहायता कक्षमा भरिने फारममा सेवाग्राहीको विवरण,कार्यालयमा आउनुको उधेश्य,सेवा लिने क्रममा शुल्क बुझाएको रसिद,सेवा  प्राप्त गर्न आवश्यक कागजपत्रहरू तथा प्रक्रियाको बारेमा जानकारी,कार्यालयबाट प्राप्त सेवा सुविधा उपभोगबाट प्राप्त सन्तुष्टि,सेवा प्रवाहका बारेमा गुनासा तथा दुख हैरानी बिषयबस्तु समेटर फाराम बनाइएको उक्त विवरण सहायता कक्षमा राखिएका कर्मचारीले जानकारी लिने गरि व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत तिमिल्सिनाले बताए ।

Comments