पोखराथोकमा निशुल्क दन्त शिविर, १२० जनाले लिए सेवा

पाल्पा-लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटी र आले डेन्टल क्लिनिक तानसेनको संयुक्त आयोजना,पोखराथोक स्वास्थ्य चौकीको सहयोग र संयोजनमा बगनासकाली गाउँपालिका वडा नं। २ पोखराथोक देउरालीमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त शिविरमा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका थापा रहनुभएको थियो भने कार्यक्रमका विशिष्ट अतिथि वडा नं। २ का वडा अध्यक्ष तिर्थ प्रसाद भट्टराई हुनुहुन्थ्यो । 

 

शिविरमा १२० जनाको दन्त परीक्षण गरिएको थियो, जहाँ दाँत झिक्ने, दाँत भर्ने, दाँत सफा गर्ने लगायतका सेवा निःशुल्क रूपमा प्रदान गरिएको लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटीका अध्यक्ष रूक्मागत शर्माले बताउनुभयो  । साथै शिविरमा आवश्यक औषधि वितरण समेत गरिएको थियो । शिविर विशेषगरी लोपुन्मुख कुमाल समुदायलाई लक्षित गरेर सञ्चालन गरिएको उहाले बताउनुभयो । 

 

शिविरलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रवक्ता टिका थापाले क्लबले विशेषगरी लोपुन्मुख समुदाय र आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर ल्याउनु भएकोमा प्रंशसा गर्नुभयो । गाउँपालिकाको तर्फबाट आगामी दिनमा पनि यस्ता कार्यमा पूर्ण सहयोग रहने बताउनुभयो । सामाजिक संघ संस्थाहरूको सहकार्य गरि अझ धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण हो यो शिविर दिएको उहाले बताउनुभयो । 

 

त्यस्तै, विशिष्ट अतिथि वडा अध्यक्ष तिर्थ प्रसाद भट्टराईले लायन्स क्लब र आले डेन्टल क्लिनिकले लोपुन्मुख कुमाल समुदायलाई लक्षित गरेर यस्तो शिविर गर्नु निकै नै सराहनीय छ । आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनु आवश्यक रहेको बताउदै वडा कार्यालयबाट सकेको सहयोग गर्न सधैं तयार रहेको बताउनुभयो । 

 

शिविरमा लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटीका चार्टर्ड प्रिसिडेन्ट लायन रूपेश राज बज्राचार्य, कल्पना शर्मा, सह–सचिव मन्जु पाण्डेय, आले डेन्टल क्लिनिककी सञ्चालक सरस्वती आले लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सचिव जय प्रकाश उप्रेतीले सञ्चालन गर्नुभएको थियो। स्थानीय बासिन्दाले यस्ता निःशुल्क शिविरलाई अत्यन्त उपयोगी बताउँदै आयोजक संस्था र चिकित्सकलाई धन्यवाद व्यक्त गरेका छन् ।

 

Comments