पोके व्यापारी समाउँदै रिब्दीकाेट गाउँपालिका

पाल्पा, पाल्पाकाे रिब्दीकाेट गाउँपालिकाले पालिकाका विभिन्न स्थानमा गैरकानूनी रुपमा व्यापार व्यावसाय गर्दै हिड्ने पोके तथा घुमुवा व्यापारीलाई नियन्त्रणमा लिन थालेको छ । व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, विलविजक नै जारी समेत नगरी भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक, अण्डा, कुखुरा, औषधि, फलफूल ,तरकारी, आइसक्रिम, लगायत विभिन्न सामाग्री विक्रि गर्दै हिड्ने व्यापारीहरुलाई पालिकाले नियन्त्रणमा लिन थालेको हो । 

 

बुधबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पाेखरेलकाे नेतृत्वमा गैरकानुनी ढंगले माेटरबाइकमा किरानाका सामाग्री बेच्दै हिड्ने व्यापारीलाई समाएको हाे । टाेलीले लु १२ प ४२८२ को माेटरबाइकमा किरानाका सामाग्रीहरू राखेर बेच्दै हिडेको अवस्थामा हटियाबाट  नियन्त्रणमा लिई जरिवाना काटि सम्झाएर पठाइएको पालिकाका प्रशासन शाखा प्रमुख रूक्लाल भट्टराईले जानकारी दिनुभयाे । कानुन विपरित पोके र घुमुवा व्यापारीका कारण राज्यलाई कर तिरी वैधानिक रुपमा सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएका पालिकाका ब्यावसायीलाई असर परेका कारण पोके व्यापारीहरुलाई नियन्त्रणमा लिईएको प्रशासन शाखा प्रमुख भट्टराईले बताउनुभयाे । गाउँपालिकाले अनाधिकृत पोके ब्यवसायीलाई सम्वन्धित निकायमा व्यावसाय दर्ता गरी कानून बमोजिम सञ्चालन गर्न समेत आग्रह गरेको उहाले बताउनुभयाे  । 

 

पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक सामानहरु बाहिरबाट लिएर विना कागजात व्यापार गर्नेको विगविगि रहेको छ । जिल्ला भर सयौंको संख्यामा व्यापारी यस्तो व्यापारमा लागेको देखिन्छ । पाल्पाको रिब्दीकाेट गाउँपालिकाले भने पाेके व्यापारीकाे नियन्त्रण गर्न आफैले कदम चालेको छ ।

Comments