पहिलो पाइला नेपाल तानसेन शाखाद्वारा भगवती मन्दिर परिसर सरसफाइ
पाल्पा जिल्लामा सामाजिक कार्यमा सक्रिय संस्था पहिलो पाइला नेपाल तानसेन शाखाद्वारा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भगवती मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय वीरता, धीरता र रणकौशलको गौरवपूर्ण इतिहाससँग सम्बन्धित यस पवित्र स्थलमा सम्पन्न उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गरेको छ । संस्थाले वातावरण संरक्षण, धार्मिक स्थलप्रति सम्मान अभिवृद्धि तथा समुदायमा सचेतना फैलाउने उद्देश्यका साथ सरसफाइ अभियान सञ्चालन गरेको जनाएको छ । कार्यक्रममा सहभागी महानुभावहरूले मन्दिर परिसरमा रहेका फोहोर संकलन गरी स्वच्छता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय उपाध्यक्ष अविर कुँवरको उपस्थिति रहेको थियो । उहाँले यस्ता सामाजिक कार्यहरूले नागरिकहरूमा जिम्मेवारीबोध अभिवृद्धि गर्नुका साथै समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उल्लेख गर्नुभयो । त्यसैगरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले मन्दिर परिसर सरसफाइमा संस्थाले देखाएको सक्रियता र समर्पणप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण सम्पूर्ण समुदायको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पहिलो पाइला नेपाल तानसेन शाखाका मिडिया संयोजक सन्तोष गहतराजले संस्थाले विगतदेखि नै सामाजिक सेवामा निरन्तर सक्रियता देखाउँदै आएको जानकारी गराउनुभयो । उहाँले सरसफाइ अभियानसँगै शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका क्षेत्रमा पनि संस्थाले महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उक्त कार्यक्रम पहिलो पाइला नेपाल तानसेन शाखाका अध्यक्ष श्रीमती बबिता थापाको अध्यक्षतामा तथा सदस्य विशाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । सरसफाइ कार्यक्रमले धार्मिक स्थललाई स्वच्छ र व्यवस्थित राख्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सहभागीहरूले बताउनुभएको छ ।








































Comments