६० औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसकाे अवसरमा तानसेनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाल्पाको तानसेन नगरपालिकामा ६० औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा "जातीय विभेद उन्मूलनमा हाम्रो भूमिका" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।  कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू, नगरका दलित अगुवाहरू, युवा पुस्ता, जनवर्गीय संघसंस्थाका प्रतिनिधिहरू, प्रशिक्षकहरू तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख श्रेष्ठले जातीय विभेदको अन्त्यका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै नगरपालिकाले शिक्षा, रोजगार, सामाजिक जागरण तथा कानुनी सहायता जस्ता क्षेत्रमा प्राथमिकता दिइरहेको बताउनुभयो । समाजमा रहेका सबै समुदायलाई समान अवसर सुनिश्चित गर्न नगरपालिकाले विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । 

नगर प्रमुख श्रेष्ठले विभेदविरुद्धको अभियानलाई स्थानीयस्तरमा व्यापक बनाउन जनप्रतिनिधि, संघसंस्था, युवा पुस्ता र सम्पूर्ण समुदायको सहकार्य आवश्यक रहेको बताउनुभयाे ।  सबै तहका सरकार, नागरिक समाज र समुदायको संयुक्त प्रयासबिना विभेद उन्मूलन सम्भव नहुने बताउदै सबै मिलेर अभियानलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाले जातीय विभेद अन्त्यका लागि शिक्षा नै प्रमुख कुरा रहेकाे कुरा बताउदै दलित समुदायलाई शिक्षा तथा सीपमूलक तालिममा जोड दिन नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयाे । कार्यक्रममा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जाली,प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेय लगाएतकाे उपस्थिति रहेको थियाे ।

 

कार्यक्रममा जातीय विभेद उन्मूलनका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई समाजमा चेतनाको अभिवृद्धि आवश्यक रहेको विषयमा गहन छलफल गरिएको थियो । स्थानीय सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै समुदायस्तरबाट नै विभेदविरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा दलित अधिकारकर्मीहरू सुर्य प्रसाद दर्नाल,बल बहादुर गन्धर्व,तिर्थ प्रसाद गाैतम जोड दिनुभएको थियो ।  कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले जातीय विभेद समाजमा गहिरो रूपमा व्याप्त रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै तहका सरकार, नागरिक समाज, संघसंस्था, युवा पुस्ता र समुदायबीच समन्वय हुनुपर्ने धारणा राख्नु भएको थियाे । 

 

कार्यक्रमकाे अवसरमा हालै सम्पन्न स्ववियु निर्वाचनमा दलित समुदायबाट निर्वाचित विद्यार्थी नेताहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । उहाहरूलाई सम्मानपत्र प्रदान गर्दै जातीय विभेद उन्मूलनमा उहाहरूको भूमिकालाई सशक्त बनाउन प्रोत्साहित गरिएको थियो । कार्यक्रममा बोल्दै दलित जनप्रतिनिधि जिल्ला संयोजक दिनेश गन्धर्वले जातीय विभेदको अन्त्यका लागि कानुनी प्रबन्धहरू भए पनि व्यवहारमा अझै धेरै चुनौतीहरू रहेको बताउनुभयाे ।  दलित समुदायका लागि शिक्षा, रोजगार, आर्थिक सशक्तिकरण तथा राजनीतिक सहभागिता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबै पक्षको सहकार्य अनिवार्य रहेको उल्लेख गर्नुभयाे । जातीय विभेद विरुद्धको अभियानलाई बलियो बनाउन समुदायस्तरबाट सचेतना कार्यक्रम, कानुनी परामर्श तथा नीति निर्माणका लागि दबाबमूलक गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा उहाको विशेष जोड थियो । समाजमा समानता, न्याय र समावेशीकरणलाई संस्थागत गर्न जातीय विभेदविरुद्धको अभियानलाई अझ व्यापक बनाउने कुरामा केन्द्रीत रहि प्रशिक्षक कृष्ण गहतराजले प्रशिक्षण दिनु भएको थियाे । कार्यक्रम दलित जनप्रतिनिधि पाल्पा जिल्ला अध्यक्ष दिनेश गन्धर्वकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments