रूपान्तरण भएको कांग्रेसले पाल्पामा बाजी मार्छ : निवर्तमान सभापति राना

पाल्पा-आसन्न फागुन २१ गते हुनगइरहेको निर्वाचनका लागि उम्मेदवारहरु एवं पार्टीको प्रचारप्रसार देश भरी बढ्दै गइरहेको छ । काठमाडौंको भाइ भनेर चिनिने पाल्पा जिल्लामा पनि उम्मेदवारहरु दौडधुपमा व्यस्त छन् । यसैक्रममा पाल्पा क्षेत्र नं. २ अन्तर्गत रैनादेवी छहरा गाउँपालिकामा नेपाली कांग्रेसले एक कार्यक्रमका बिच आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

 

कार्यालय स्थापनाको कार्यक्रममा बोल्दै मुल निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका पार्टीका निवर्तमान सभापति तथा प्रदेश सभा सदस्य माननीय वीर बहादुर रानाले पार्टी रुपान्तरण भई आएकाले कांग्रेस बदलिएको र पाल्पामा पनि एकताको जगमा उभिएकाले कांग्रेसले ०४८ सालमा तत्कालीन पाल्पाका ३ निर्वाचन क्षेत्रमा बाजि मारे जस्तै यसपटक पनि दुबै निर्वाचन क्षेत्रमा बाजि मार्ने दाबि गरेका छन् । त्यसैगरी

पूर्व संविधान सदस्य हरि नेपालले पश्चिम पाल्पाको विकासमा नेपाली कांग्रेसको महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले कांग्रेसले कोरेका अधुरा सपना पूरा गर्न कांग्रेसलाई जिताउन रुख चिन्हमा मतदान गरि उम्मेदवार हिमाल दत्त श्रेष्ठलाई विजयी बनाउन अपिल गरेका छन् ।

 

त्यस्तै, नेपाली कांग्रेस पाल्पाका पार्टी सभापति समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिमाल दत्त श्रेष्ठले पर्यटन, शिक्षा र स्वास्थ्यमा विज्ञ सँगको समन्वयमा अध्ययन अनुसन्धान गरि ठोस कदम चाल्ने र सम्भावना एवं अवसरलाई जोड्दै रोजगारको सिर्जना गर्ने रणनीतिमा आफू रहेको बताए । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पाल्पा क्षेत्र नं.२ का सभापति मुक्तिराम जि.सी., रैनादेवीका सभापति विष्णु पोख्रेल, दलित महिला संघ पाल्पाकी अध्यक्ष लक्ष्मण हिताङ, तरुण दल रैनादेवी अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, नेपाल महिला संघ रैनादेवी सभापति मिना कुमारी रायमाझी, नेविसंघ रैनादेवी सभापति लक्ष्मण भट्टराई लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Comments