रूरू गौसेवा आश्रमद्वारा गाई पालन सहयोगार्थ मंसिर १९ देखि २५ सम्म महायज्ञ हुने

पाल्पामा सडकमा बेवारिसे अवस्थामा रहेका गाईहरूको संरक्षण तथा पालन–पोषणका लागि रूरू गौसेवा आश्रम, तानसेन नगरपालिका–१४ कुसेनीले भविष्यपुराण गो आराधना धान्याचाल महायज्ञ आयोजना गर्ने भएको छ । मंगलबार तानसेनमा गरिएको पत्रकार सम्मेलनमा महायज्ञको तयारी पूरा भएको जानकारी आयोजकले दिनुभएकेा छ । मंसिर १९ देखि २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा दीपोत्सव, करोड दीप प्रज्वलन, गौ महाआरति, विशाल भण्डारा तथा भजन प्रतियोगिताजस्ता विविध कार्यक्रमहरू रहनेछन् । भजन प्रतियोगितामा प्रथमदेखि सान्त्वना स्थानसम्मका विजेताले क्रमशः रु. २५ हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । महायज्ञ सञ्चालनमा करिब ५ लाख खर्च हुने र करिब १० लाख लाभ हुने अनुमान गरिएको गौशालाका प्रमुख संरक्षक शंकर गिरीले जानकारी दिनुभयो ।

 

महायज्ञ अवधिभर पूजापाठ, पाठपरायण, दैनिक हवन, रुद्री, चण्डी, गीता तथा वेद पाठ सञ्चालन गरिने गौसेवा आश्रमकी उपाध्यक्ष सीता ज्ञवालीले बताउनुभयेा । ‘रूरू धामस्थित गौशाला जाऔं, १०८ गाईको दर्शन गरौं, घाँस–पराल तथा दान अर्पण गरौं, पुण्य कमाऔं’ भन्ने नारासहित महायज्ञ आयोजना गरिएको आश्रमका संस्थापक अध्यक्ष राजु राणा मल्लले बताउनुयो । टाढाबाट आउने भक्तजनका लागि खानेबस्ने व्यवस्थासमेत मिलाइएको छ, जसले दर्शनार्थीलाई सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

रूरू धामस्थित गौशालामा अहिले १३५ वटा गाई रहेका छन् । सडकमा छाडिएका बेवारिसे गाईलाई उद्धार गरी सुविधायुक्त गोठमा राखेर संरक्षण गर्ने कार्य आश्रमले निरन्तर सञ्चालन गर्दै आएको छ । गाई पालनमा वार्षिक ३५ लाख खर्च हुने गरेको छ भने एउटा गाईको मासिक खर्च करिब रु. २,१०० रहेको संरक्षक गिरीले बताउनुभयो । गाईको दैनिकी व्यवस्थापनका लागि नियमित तथा ज्यालादारी गरी करिब १५ जना कर्मचारी कार्यरत छन्, जसले गाईको हेरचाह, स्वास्थ्य, गोठको सरसफाइ तथा दाना व्यवस्थापनमा सहयोग पुर्‍याइरहेका छन् ।

 

गौशालाको सञ्चालनमा विभिन्न व्यक्ति, संघ–संस्था तथा स्थानीय सरकारले सहयोग गर्दै आएका छन् । दूध, दही, घ्यू तथा गोबर बिक्रीबाट आश्रमले केही आम्दानी जुटाए पनि बेवारिसे गाईको बढ्दो सङ्ख्या र उच्च खर्चका कारण थप स्रोत आवश्यक हुँदै आएको आयोजकहरूको भनाइ छ । यसै कारण आर्थिक सुदृढीकरण, धार्मिक भावनाको विस्तार तथा गाई संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन यो महायज्ञ महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।

 

Comments