न्यानो माया अभियानअन्तर्गत श्री विन्दवासिनी प्राथमिक विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट वितरण

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२, कोकलधारास्थित विन्दवासिनी प्राथमिक विद्यालयमा न्यानो माया अभियान अन्तर्गत ट्र्याक सुट वितरण कार्यक्रम सम्पन्न भएको छ । बाल कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत १८ जना सम्पूर्ण विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । जाडो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठनमा सहजता ल्याउने उद्देश्यले ट्र्याक सुट वितरण गरिएको आयोजकले जनाएको छ । ग्रामीण तथा विकट क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकालाई आवश्यक शैक्षिक तथा भौतिक सहयोग प्रदान गर्दै उनीहरूलाई विद्यालयप्रति आकर्षित गर्ने उद्देश्य अभियानको मुख्य लक्ष्य रहेको बताइएको छ । 

 

कार्यक्रम सस्थाका बबिता थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रैनादेवी छहरा गाउँपालिका–२ का वडा अध्यक्ष दानबहादुर पौडेल रहनु भएको थियो। प्रमुख अतिथिको आसनबाट बोल्दै वडा अध्यक्ष पौडेलले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय तह, संघसंस्था तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई न्यानो कपडा जस्तो सानो सहयोगले पनि उनीहरूको मनोबल बढ्ने र सिकाइमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो ।  साथै उहाँले आगामी दिनमा पनि वडा कार्यालयबाट विद्यालय तथा विद्यार्थी लक्षित सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा कार्यालयका वडा सदस्य वीर बहादुर पोखरेल, पहिलो पाइला नेपाल का केन्द्रीय सदस्य तथा पाल्पा शाखाका पूर्व अध्यक्ष दिनेश थापा, तथा संस्थाका सल्लाहकार टङ्कनाथ बस्यालको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूले आ–आफ्नो मन्तव्यका क्रममा सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा क्षेत्रमा लगानी गर्नु दीर्घकालीन राष्ट्र निर्माणको आधार भएको धारणा राख्नुभयो । पहिलो पाइला नेपाल का केन्द्रीय सदस्य दिनेश थापाले संस्थाले देशका विभिन्न जिल्लामा बालबालिका केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउँदै न्यानो माया अभियान मानविय संवेदना र सेवाको प्रतीक भएको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष गोपाल हिताङ्गले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीच सकारात्मक ऊर्जा सिर्जना गर्ने बताउनुभयो । 

 

कार्यक्रमको सञ्चालन विद्यालयका सचिव सुमन पोखरेलले गर्नुभएको थियो भने कार्यक्रम संयोजनको भूमिका पहिलो पाइला नेपाल का केन्द्रीय सदस्य तथा पाल्पा शाखाका पूर्व अध्यक्ष दिनेश थापाले निर्वाह गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरू, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । ट्र्याक सुट प्राप्त गरेपछि विद्यार्थीहरू खुशी देखिनुका साथै अभिभावकहरूले आयोजकप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा आयोजक पक्षले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र बालबालिका लक्षित सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सबै सहभागीलाई धन्यवाद ज्ञापन गरेको थियो ।

Comments