नयाँ वर्षमा पाल्पाको गुफाचौरमा पर्यटकहरूकाे घुइँचो !!

पाल्पा —नयाँ वर्ष २०८२ को पहिलो दिन पाल्पाको पर्यटकीयस्थल तानसेन नगरपालिका-१० तेल्घाको गुफाचौरमा पहिलोपटक खाना तथा पर्यटन महोत्सव आयोजना गरिएको छ । तेल्घाको गुफाचौरमा स्थानीय समुदायले कला संस्कृति जगेर्ना गर्न नयाँ वर्षका अवसरमा खाना तथा पर्यटन महोत्सव आयोजना गरेको हो ।

 

गुफाचौरमा तेल्घा, मस्याम, बन्दीपोखरालगायतका स्थानबाट स्थानीय परम्परागत खानाका परिकार बटुक, सेलरोटी, चुकाउनी, मेवाको अचार प्रदर्शनी तथा बिक्री गरिएको थियो । महोत्सवमा पाल्पाबाहेक गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँचीबाटसमेत अवलोकनका लागि आएका थिए । महोत्सवको प्रतिनिधिसभामा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले उद्घाटन गर्नु भएको हाे । महोत्सवमा महिला तथा पुरुष समूहको पञ्चेबाजा, लोक तथा दोहोरी एवं चुट्का गायक शिरिष देवकोटाले महोत्सवमा नचाए । मगर संस्कृतिमा आधारित झाम्रे लगायत नाचका साथै कला केन्द्रको प्रस्तुति थियो । स्थानीय खानाका परिकारले सबैलाई आकर्षित तुल्याएको थियो भने नयाँ वर्ष मनाउने जानेहरुले शुभकामना आदानप्रदान गर्दै खानपिन गरेका थिए ।

 

गुफाचौरबाट प्राकृतिक मनोरम दृष्यावलोकन गर्न सकिन्छ । मनोरम तथा रमणीय स्थल भएर पनि प्रचारप्रसारको अभावमा पछाडि परेको छ । पर्यटकीयस्थल गुफाचौरको प्रचारप्रसार गरी आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव राखिएको हो । झण्डै १० हजार दर्शकले एकै दिनमा गुफाचौरको महोत्सव अवलोकन गरेका स्थानीय दशरथ अस्लामीले बताए ।  तराई मधेशमा गर्मी बढ्दै गर्दा चिसो हावाको आनन्द लिन गुफाचौर आउन सकिन्छ ।

 

गुफाचौरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने उदेश्यले २०५४ सालदेखि विभिन्न प्रयास भए पनि त्यसले मुर्तरुप लिन नसक्दा पछि परेको वडाध्यक्ष हिमलाल पंगेनीले बताए । आयोजक समितिका अध्यक्ष कृष्णबहादुर रानाले गुफा चौर क्षेत्रमा काफल, लालीगुराँस संरक्षण गर्दै विशाल गणेशको मुर्ति राख्ने योजना अघि बढेको बताए । अहिले पनि गर्मी छल्नका लागि आउनेका लागि केही होटलको व्यवस्था गरिएको छ । आगामी दिनमा गुरुयोजना बनाएर अघि बढ्ने योजना रहेको उनले बताए ।

Comments