नयाँ संकल्पसहित आएको नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान गर्न आग्रह

पाल्पा- नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेद्धार हिमालदत्त श्रेष्ठले नयाँ संकल्प र स्पष्ट भिजनसहित अघि बढेको नेपाली कांग्रेस लाई रुख चिन्हमा मतदान गर्न आम नागरिकसमक्ष आग्रह गर्नुभएको छ । पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रेष्ठले चुनावी प्रचार–प्रसारका क्रममा घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनुभएको छ । घरदैलो कार्यक्रम अन्तर्गत उहाँले बगनासकाली गाउँपालिका का यम्घा, दर्लमडाँडा लगायतका विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग अन्तरक्रिया गर्नुभएको थियो । सो क्रममा उहाँले कांग्रेसले अघि सारेका दश भिजन र विकासका स्पष्ट कार्ययोजनाबारे जानकारी गराउँदै गगन थापाको नेतृत्वमा बन्ने सरकारले ती योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गर्नुभयो । “कांग्रेसले सक्ने कामको मात्रै प्रतिबद्धता गर्छ र गरेको प्रतिबद्धता पूरा गरेरै छाड्छ,” उहाँले भन्नुभयो । 

 

उम्मेदवार श्रेष्ठले बगनासकाली विकासका दृष्टिले पछि परेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो । नीति निर्माण तहमा पुगेर स्थानीय आवश्यकताअनुसार नीति निर्माणसँगै विकासका कार्यक्रम अघि बढाइने उहाँको भनाइ थियो । यहाँका युवालाई रोजगारीको अवसर सिर्जना गर्ने, विद्यालय र स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने तथा सडक तथा खानेपानीजस्ता आधारभूत पूर्वाधारमा सुधार ल्याउने हाम्रो प्राथमिकता हो,” श्रेष्ठले स्पष्ट पार्नुभयो ।

 

उहाँले पछिल्लो समय जेनजी पुस्ताको अपेक्षा र भावनालाई आत्मसात गर्दै कांग्रेसले आफूलाई सुधार गर्दै अघि बढेको उल्लेख गर्नुभयो । पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई केन्द्रमा राखेर कांग्रेसले नयाँ ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मतदातालाई रुख चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध गर्नुभयो । यसैबीच, नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति बीर बहादुर रानाले पनि चुनावी अभियानका क्रममा कांग्रेस सधैं जनताको सुखदुःखमा साथ दिने पार्टी भएको बताउनुभयो । उहाँले जनताको भारी बोक्न कांग्रेस तयार रहेको उल्लेख गर्दै यसपटक पनि जिम्मेवारी दिने अवसर प्रदान गर्न बगनासकाली वासीसँग आग्रह गर्नुभयो । 

 

“जनताले दिएको मतको सही सदुपयोग गर्दै विकास र समृद्धिका काम अघि बढाइनेछ,” रानाले भन्नुभयो, “कांग्रेस सधैं जनताको पक्षमा उभिएको छ र आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नेछ । ” चुनावी माहोल तातिँदै जाँदा पाल्पा क्षेत्र नम्बर २ मा दलहरूबीच प्रतिस्पर्धा बढ्दो छ । घरदैलो कार्यक्रम, टोलभेला र अन्तरक्रियामार्फत उम्मेदवारहरू मतदाता रिझाउन सक्रिय देखिएका छन् । यसैक्रममा कांग्रेस उम्मेदवार श्रेष्ठले विकास, सुशासन र युवामैत्री नीतिलाई मुख्य एजेन्डा बनाउँदै मतदातासँग समर्थन मागिरहनुभएको छ । 

Comments