नेविसंघका कृष्ण अर्याल पुनः स्ववियु सभापतिमा उम्मेदवार : गएको दुई वर्षमा उनको उपलब्धि के ?

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पूर्व सभापति कृष्ण अर्याल पुनः सभापतिको उम्मेदवार बनेका छन् । अघिल्लो कार्यकालमा विद्यार्थी हकहितका विभिन्न कार्यहरू गरेको दाबी गर्दै उनले आगामी कार्यकाललाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

अर्यालको नेतृत्वमा अघिल्लो स्ववियुले क्याम्पसमा शिक्षाको गुणस्तर सुधार, विद्यार्थी सुरक्षाका उपाय, अतिरिक्त क्रियाकलापको प्रवर्द्धन तथा भौतिक पूर्वाधारको सुधारमा केन्द्रित रहेर काम गरेको थियो । यस क्रममा उनले शैक्षिक भित्तेपात्रो प्रकाशनदेखि लिएर क्याम्पसको पुस्तकालय, शौचालय, बिजुली, खानेपानी तथा प्रशासनिक सेवा सुधारका विभिन्न कार्यहरू अघि बढाएका थिए । विद्यार्थी स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकका ड्रम हटाएर स्टिलनेस ड्रमबाट खानेपानी वितरण गरिएको थियो भने क्याम्पसमा युरोगार्डको प्रयोगलाई प्राथमिकता दिइएको थियो ।

 

यस्तै, सडक दुर्घटना न्यूनीकरणका लागि लहरेपिपल क्षेत्रमा दुई वटा र बतासेमा एक वटा जेब्राक्रस निर्माण गरिएको थियो । क्याम्पसका विद्यार्थीहरूको सुरक्षाका लागि रातिको समयमा समेत सुरक्षागार्डको व्यवस्था गरिएको थियो । त्यस्तै, बीबीएस, बीएससी, बीएड र बीए संकायका विद्यार्थीहरूको नतिजा सुधारका लागि अनिवार्य आन्तरिक परीक्षा सञ्चालन गरिएको थियो । बीएससी छात्रावासको मर्मत सम्भार तथा स्तरोन्नति गरिएको थियो भने क्याम्पसभित्रै नेपाल बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरी सबै आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा लैजाने प्रयास गरिएको थियो ।

 

यद्यपि, उनको कार्यकालमा केही विषयहरू भने पूरा हुन सकेनन् । क्याम्पसमा व्याप्त कर्मचारी प्रशासनिक ढिलासुस्ती अन्त्य गर्ने विषयमा पूर्ण प्रभावकारी सुधार ल्याउन नसकेको विद्यार्थीहरू बताउँछन् । विश्वविद्यालय प्रशासनको ढिलासुस्तीका कारण परीक्षा, नतिजा प्रकाशन, प्रमाणपत्र वितरण जस्ता कार्यमा अझै सहजता आउन सकेको थिएन । त्यस्तै, विज्ञान संकायका प्रयोगशाला तथा प्रविधिमा गुणस्तर वृद्धि गर्ने विषयमा अझै थप काम गर्नुपर्ने आवश्यकता देखिएको थियो ।

 

अबको कार्यकालमा यी अपूरा कामलाई निरन्तरता दिने तथा क्याम्पस सुधारका थप योजना कार्यान्वयन गर्ने प्रतिबद्धता अर्यालले व्यक्त गरेका छन् । उनले विशेष गरी विश्वविद्यालय तहमा देखिएको ढिलासुस्ती अन्त्य गर्न विद्यार्थी आवाजलाई थप प्रभावकारी बनाउने बताएका छन् । क्याम्पसमा स्मार्ट कक्षाकोठा सञ्चालन गर्ने, डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने तथा विद्यार्थीलाई शैक्षिक अनुसन्धानतर्फ आकर्षित गर्ने योजनासहित उनले उम्मेदवारी दिएका छन् । विद्यार्थीहरूलाई रोजगारीमूलक शिक्षा प्रदान गर्न विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्ने, क्याम्पसको खेल मैदानलाई स्तरीय बनाउने तथा पुस्तकालयमा डिजिटल प्रविधि भित्र्याउने उनको योजना छ । त्यस्तै, महिला विद्यार्थीहरूको सुरक्षाका लागि क्याम्पस वरपर सिसी क्यामेरा जडान गर्ने तथा हेल्प डेस्क स्थापना गर्ने उनको प्रतिबद्धता छ ।

विद्यार्थीहरूका समस्याहरूको तत्काल समाधानका लागि मोबाइल एप वा अन्य प्रविधिको प्रयोग गर्दै ‘एकीकृत सूचना प्रणाली’ विकास गर्ने उनको लक्ष्य छ । विश्वविद्यालय प्रशासनलाई सुधार गर्न चरणबद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी हकहितविरुद्ध हुने कुनै पनि निर्णयप्रति कठोर रूपमा खबरदारी गर्ने उनको भनाइ छ । कृष्ण अर्यालको अघिल्लो कार्यकालमा भएका उपलब्धिहरू तथा केही अपूर्ण योजनाहरूलाई पूरा गर्ने प्रतिबद्धतासहित उनले पुनः उम्मेदवारी दिएका छन् । अब विद्यार्थीहरूले उनको नेतृत्वलाई पुनः समर्थन गर्ने कि प्रतिस्पर्धी उम्मेदवारलाई रोज्ने भन्ने विषयमा स्ववियु चुनावको नतिजाले टुंगो लगाउनेछ ।

 

Comments