नेविसंघ पाल्पा : राष्ट्रिय झण्डा वितरण सँगै संगठन विस्तारमा

पाल्पा । नेपाल विद्यार्थी संघ पाल्पाले चन्द्र र सुर्य अंकित नेपालको झण्डा वितरण अभियानको साथमा आफ्नो संगठन विस्तार सुरु गरेको छ । नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले चन्द्र र सुर्य अंकित राष्ट्रियताको प्रतीक नेपालको झण्डा र विद्यार्थी विभाग प्रमुख समेत रहेकी पार्टी सचिव सुनिता अधिकारीले कलम र मसाल अंकित नेपाल विद्यार्थी संघको झण्डा प्रदान गर्दै अभियानको शुभारम्भ भएको छ ।

 

राष्ट्रियताको सन्देश सहित राष्ट्रिय झण्डा वितरणले राष्ट्रियता सँग सँगै संगठन अघि बढ्ने उदाहरणीय अभियान भएको पार्टी सभापति श्रेष्ठले बताएका छन् । त्यसैगरी पार्टी जिल्ला सचिव समेत रहेकी विद्यार्थी विभाग प्रमुख सुनिता अधिकारीले राष्ट्रियताका लडाईमा नेपाल विद्यार्थी संघ महत्त्वपूर्ण सिपाही बनेको ईतिहास रहेको बताउँदै नेविसंघ कलम र मसालका साथमा राष्ट्रियताको पक्षमा जाग्न जरुरी रहेको बताइन् । नेविसंघ पाल्पाकी पूर्व सभापति समेत रहेकी अधिकारीले नेविसंघका नेताहरुलाई अभियानमा प्रेरणा प्रदान गर्दै पाल्पा नेविसंघले केन्द्रीय समिति माझ उदाहरण देखाउने गरि काम गर्न सुझाव दिएकी छन् । पाल्पामा वर्तमान पार्टीका सभापति र सचिव दुबै जना नेविसंघ पाल्पाका पूर्व सभापति समेत हुन् ।

 

नेपाल विद्यार्थी संघ पाल्पाको टिमले जिल्लाका सम्पुर्ण विद्यालयहरुमा राष्ट्रियताको प्रतीक नेपालको झण्डा वितरण अभियानको शुभारम्भ गरेको नेपाल विद्यार्थी संघ पाल्पाका नेता एवम त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका स्वयु सभापति कृष्ण अर्यालले बताए । राष्ट्रियतासँग सम्बन्धित गौरवपुर्ण यो अभियानसँगै जिल्ला भरि नै सँगठन विस्तार प्रारम्भ भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुवास गैरेले बताए । नेबिसंघ पाल्पाका सभापति दिपक अर्यालले पाल्पा जिल्लाका १० वटै पालिकामा संगठन विस्तारकाे लागि  संयाेजक ताेकिएकाे बताए । जिल्लाका १० वटै स्थानीय तहका विद्यालयहरूमा सँगठन विस्तार गर्ने र नेपालकाे झण्डा हस्तान्तरण गरिने सभापति अर्यालले बताए । 

Comments