निस्दीमा पालिका स्तरीय हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
होम राई मगर
पाल्पा / ३२ जेठ । निस्दी गाउँपालिका पाल्पामा पालिका स्तरीय हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालमैत्री शाखाको आयोजनामा सन्चालन भएको कार्यक्रमको अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल रहनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीमा शैक्षिक बिकासको लागि गाउँपालिकाले प्राथमिकता साथ कार्यक्रम सन्चालन गरिएको बताउनुभयो । उहाँले शैक्षिक सिकाइ उपलब्धि वृद्धि गर्न विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताउनु हुँदै गाउँपालिकाले वितरण गरेको शैक्षिक डायरीलाई प्रयोगमा ल्याउन सुझाव दिनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बालबालिकाहरुमा रहेका अन्तर्निहित प्रतिभालाई प्रस्तुत गर्न विद्यालय स्तरबाट नै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले भौतिक बिकास मात्र बिकास मान्न नसकिने बताउनु हुँदै शैक्षिक बिकास मार्फत सामाजिक बिकास लगायत समग्र पक्षमा टेवा पुग्ने बताउनुभयो । जमा २१ वटा विद्यालयहरुको सहभागिता रहेको प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा गोरखनाथ माध्यमिक विद्यालय अर्चलेले प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने भाङ्बारी प्राथमिक विद्यालय सहलकोटले द्वितीय र गौरीशंकर माध्यमिक विद्यालय मित्यालले तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी जमा १२ जना विद्यार्थीहरुको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय गल्धाका सबिना बयम्बुले प्रथम स्थान प्राप्त गरेका छन् । त्यसैगरी बालहित माध्यमिक विद्यालय सहलकोटका सृष्टि बिकले द्वितीय,सरस्वती माध्यमिक विद्यालय गल्धाका जेनिशा सोतीले तृतीय र जनक माध्यमिक विद्यालय झिरुबासका गंगा रानाले सान्त्वना स्थान प्राप्त गरेका छन् । शिक्षा संयोजक नर बहादुर थापाले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रमको सन्चालन बालमैत्री शाखा संयोजक कुश्माखर पाण्डेले गर्नुभएको हो








































Comments