निस्दीको अर्चलेमा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

होम राई मगर, साउन ३२ /  पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

 

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले निस्दीमा वालविवाहको समस्या, शैक्षिक गुणस्तर, बिजुली, यातायात, खानेपानीसँग सम्बन्धित जिज्ञासा राखेका थिए । यसैबीच  मोटरबाटो स्तरोन्नति , स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सेवाग्राहीलाई दिनुपर्ने सेवा सुबिधा बारे जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद अर्याल,अर्चले स्वास्थ्य चौकी इन्चार्ज विद्यानन्द राय,सिन्दुर आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक जोग बहादुर बयम्बु,देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष महेन्द्र बयम्बु लगायतकाले बोल्नुभएको थियो ।

 

कार्यक्रमको वडा अध्यक्ष बोल्नुहुँदै वडा अध्यक्ष मेख बहादुर सुनारीले जिज्ञासा तथा सुझाव दिनु हुने सबैलाई धन्यवाद दिनुहुँदै वडाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताउनुभयो । गाउँपालिका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष सुनारीले  आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने बताउनुभयो । सहभागीले उठाएका जिज्ञासाको जवाफ सम्बन्धित संघ,संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत वडा अध्यक्ष मेख बहादुर सुनारीले दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण होम राई मगरले गरेको हो ।

Comments