निस्दी वडा नम्बर १, बाकामलाङमा मिनि बाल मेला सम्पन्न — बालबालिकाको प्रतिभा प्रस्फुटनको अवसर
निस्दी गाउँपालिका वडा नम्बर १, बाकामलाङमा आयोजना गरिएको वडा स्तरीय मिनि बाल मेला कार्यक्रम सम्पन्न भएको छ । निस्दी गाउँपालिकाको आर्थिक सहयोग तथा वडा कार्यालयको संयोजनमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय बालबालिकाको प्रतिभा उजागर गर्ने थलोको रूपमा आफूलाई स्थापित गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ रहनु भएको थियाे ।
कार्यक्रममा वडा भित्रका विभिन्न विद्यालयबाट सहभागी बालबालिकाहरूले आ–आफ्ना साङ्गीतिक, सांस्कृतिक, साहित्यिक तथा खेलकुद सम्बन्धी प्रस्तुति दिएका थिए । नृत्य, गायन, कविता वाचन, चित्रकला, हाजिरीजवाफ जस्ता विभिन्न विधाहरूमा बालबालिकाहरूको सक्रिय सहभागिता देखिएको थियो । बाल–मैत्री वातावरणमा सञ्चालन गरिएको मेलाले बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूका सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर शारूले बताए । उनले बालबालिका भविष्यका कर्णधार रहेकाले उनीहरूको बहुपक्षीय विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण माध्यम हुने बताए ।
स्थानीय अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा बाल अधिकार, बाल सुरक्षालगायत विषयमा जनचेतनामूलक सन्देश पनि दिइएको थियो । मेलाको सफल आयोजनाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्ने आवश्यकता झल्काएको छ । यस्ता कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने विश्वास लिएकाे गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बताइन ।








































Comments