नेपाल विद्यार्थी संघको ५७औँ स्थापना दिवसमा पाल्पा अस्पतालमा फलफूल वितरण
पाल्पा — नेपाल विद्यार्थी संघ को ५७औँ स्थापना दिवसको अवसरमा ने वि संघ त्रिभुवन बहुमुखी क्याम्पस इकाइले पाल्पा अस्पतालमा उपचाररत बिरामीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सहानुभूतिको भावनालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले यस्ता सेवामूलक कार्यक्रमहरूले समाजमा सहयोग, सहकार्य र मानवीय मूल्यको प्रवर्द्धन गर्ने बताउनुभयो । उहाँले बिरामीहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुँदै कठिन परिस्थितिमा सानो सहयोगले पनि ठूलो आत्मबल प्रदान गर्ने उल्लेख गर्नुभयो । साथै, विधार्थी नेताहरूले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै निरन्तर समाजसेवामा लाग्न आग्रह गर्नुभयो ।
त्यस्तै, नेपाली कांग्रेस पाल्पाका सचिव सुनिता अधिकारीले स्थापना दिवसलाई औपचारिकतामा सीमित नराखी सामाजिक कार्यमार्फत मनाउनु उदाहरणीय र प्रेरणादायी भएको बताउनुभयो । उहाँले विद्यार्थी संगठनहरूले समाजप्रति जिम्मेवार बन्दै सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो र यस्ता गतिविधिले बिरामीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस तानसेन नगर सभापति सुवर्ण मुनि शाक्य, तानसेन नगरपालिका कार्यपालिका सदस्य दिनेश गन्धर्व, तानसेन नगर कोषाध्यक्ष अमन श्रेष्ठ, तानसेन नगरपालिका वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष मनोहर बहादुर थापा, त्रिभुवन बहुमुखी क्याम्पस का स्ववियु उपसभापति सन्तोष सुनार, स्ववियु सदस्यहरू बबिता थापा क्षेत्री, नवीन थापा, आसिका विश्वकर्मा, नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस इकाइका नेता प्रियकर मुनि शाक्य, किरण थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम त्रिभुवन बहुमुखी क्याम्पस ने वि संघ क्याम्पस इकाइ सभापति पुण्य सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सेवा, सहानुभूति र सहयोगमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन विद्यार्थी संगठनहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए ।
बिश्वेश्वर प्रसाद कोइरालालाई थुनिएको सुन्दरीजल कारागारको साघुरो र अँध्यारो कोठामै उहाँले लोकतन्त्रप्रतिको अटल विश्वासलाई जोगाउँदै नेपाल विद्यार्थी संघ स्थापना गर्ने परिकल्पना गर्नुभएको थियो, जहाँबाटै उहाँले संगठनको झण्डासमेत डिजाइन गर्नुभएको इतिहास रहेको छ । आज नेविसंघ आफ्नो ५७औँ स्थापना दिवस मनाउँदै लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणहरूको साक्षी र महत्वपूर्ण हिस्सेदारका रूपमा उभिएको छ, र यस अवसरमा राम, लक्ष्मण, लिला, ठगी, कामेश्वर, कुशेश्वर लगायत सम्पूर्ण वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।








































Comments