नेपाल प्रेस युनियन पाल्पाले,पाल्पा अस्पतालमा बिरामीलाई फलफूल वितरण
पाल्पा, नेपाल प्रेस युनियनकाे ३३ औं स्थापना दिवसकाे अवसरमा युनियन पाल्पा शाखाले अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेको छ । फलफूल लिएर युनियनमा आवद्ध पत्रकारसँगै नेपाली काँग्रेसका नेताहरु पाल्पा अस्पतालमा पुगेका हुन् । श्रमजीवी पत्रकारहरुको हकहित र संरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियनले त्रिदिवसीय कार्यक्रम अन्तर्गत सोमबार अस्पतालमा फलफूल वितरण गरेको हो ।
पत्रकारसँगै अस्पताल पुगेका नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले विरामीहरुप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताए । उनले आवाजविहीनहरुको आवाजलाई कलमको माध्यमबाट सम्बन्धित निकायमा पुर्याउने काम गर्दै आएका पत्रकारहरु अस्पतालमै पुगेर कार्यक्रम आयोजना गर्नु आफैमा अनुकरणीय कार्य रहेको बताएका छन् । उनले लोकतन्त्र स्थापनामा पत्रकारहरुले खेलेको भूमिकाको स्मरण गर्दै नेपाली काँग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको पत्रकारहरुसँगको अनौपचारिक भेटमा बताए ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस पाल्पाका उपसभापति तथा युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरे, युनियनका सल्लाहकार तथा काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, काँग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपाने, काँग्रेस पाल्पा क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राजमगर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा युनियन जिल्लाका निवर्तमान अध्यक्ष भरत शर्मा, नेपाल ट्रेड युनियन काँग्रेसका सभापति निलकण्ठ देवकोटा, जेसिज पाल्पाका अध्यक्ष अर्जुन कार्की लगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरु अस्पताल पुगेका थिए । अस्पतालकी सूचना अधिकारी प्रमिला पाठकले पत्रकारहरुले अस्पतालमै आएर विरामीहरुको अवस्थाका बारेमा जानकारी लिनुको साथै फलफूल वितरण गरेर उनीहरुप्रति देखाएको माया र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिईन् । युनियनले हरेक वर्ष स्थापना दिवस विरामी, श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुसँग बसेर मनाउँदै आएको युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझीले बताए ।








































Comments