नेपाली कांग्रेस पाल्पामा ६५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन

पाल्पा, फागुन २१ — प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस पाल्पाले जिल्ला निर्वाचन अनुगमन समिति गठन गरेको छ । पार्टीका पूर्व केन्द्रीय सदस्य हरि प्रसाद नेपालको संयोजकत्वमा ६५ सदस्यीय समिति निर्माण गरिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं.१ र क्षेत्र नं.२ का पार्टी उम्मेदवारहरूलाई विजयी बनाउन विभिन्न तहका कार्यसमितिहरूले सञ्चालन गरिरहेका गतिविधिहरूको नियमित अनुगमन तथा समन्वय गर्ने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ । समिति गठन कार्यक्रममा प्रमुख अतिथिका रूपमा राजेन्द्र गोपाल सिंहको उपस्थिति रहेको थियो ।कार्यक्रममा पाल्पा क्षेत्र नं.२ का क्षेत्रीय सभापति मुक्तिराम जी सी, पार्टीका पूर्व उपसभापति देवराज ढकाल तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन विष्ट लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै संगठनलाई सुदृढ र चलायमान बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउन निर्देशन दिएका थिए । उनले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन गाउँ–गाउँ र टोल–टोलसम्म पुगेर जनमत निर्माण गर्नुपर्नेमा जोड दिए । संयोजक नेपालले अनुगमन समितिको भूमिका निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनु रहेको स्पष्ट पारे । उनले क्षेत्रीय तथा स्थानीय तहका कार्यसमितिहरूले गरिरहेका प्रचार–प्रसार, घरदैलो, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमहरूको नियमित मूल्यांकन गर्दै आवश्यक सुझाव र सहजीकरण गरिने बताए। “पार्टीभित्र एकता, अनुशासन र समन्वय कायम राख्दै निर्वाचनमा उत्साहजनक परिणाम ल्याउनु हाम्रो मुख्य दायित्व हो,” उनले भने,कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति जी सीले क्षेत्र नं.२ मा पार्टीको अवस्था सुदृढ रहेको दाबी गर्दै संगठित रूपमा अघि बढेमा विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे । पूर्व उपसभापति ढकालले विगतका निर्वाचन अनुभवलाई आत्मसात् गर्दै रणनीतिक ढंगले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । तरुण दलका नेता विष्टले युवा पंक्तिलाई सक्रिय बनाउँदै सामाजिक सञ्जालदेखि मैदानसम्म सशक्त उपस्थिति जनाउन आग्रह गरे ।

 

६५ सदस्यीय जिल्ला निर्वाचन अनुगमन समितिमा पार्टीका विभिन्न तह र भ्रातृ संस्थाका प्रतिनिधिहरू समेटिएका छन् । समितिले निर्वाचन अवधिभर नियमित बैठक बसी कार्यप्रगतिको समीक्षा गर्ने, समस्या पहिचान गरी समाधानका लागि आवश्यक निर्देशन दिने तथा उम्मेदवार र कार्यकर्ताबीच समन्वयकारी भूमिका निर्वाह गर्ने जनाएको छ । पार्टीका जिल्ला नेताहरूका अनुसार यस किसिमको अनुगमन संयन्त्रले संगठनात्मक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । पाल्पा जिल्लामा दुवै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा कडा हुने आँकलन गरिएकाले पार्टीले रणनीतिक रूपमा अभियानलाई तीव्रता दिएको छ । यसैबीच, कार्यक्रमको समापन गर्दै संयोजक नेपालले सम्पूर्ण नेता–कार्यकर्तालाई जिम्मेवारीका साथ आ–आफ्नो क्षेत्रमा खटिन आह्वान गरेका छन् । उनले मतदाताको विश्वास जित्न सकारात्मक सन्देश, विकासको स्पष्ट एजेण्डा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे । नेपाली कांग्रेस पाल्पाले गठन गरेको यो जिल्ला निर्वाचन अनुगमन समितिले आगामी निर्वाचनसम्म सक्रिय रूपमा कार्य गर्दै पार्टीका उम्मेदवारहरूको जित सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । 

Comments