नेपाली कांग्रेस पाल्पाको १०० दिने अभियान: सहिद परिवारको घरदैलोमा पुगेर सम्मान गर्दै समापन गर्ने !
पाल्पा – नेपाली कांग्रेसले सञ्चालन गरेको १०० दिने विशेष अभियान नेपाली काङ्ग्रेस पाल्पाले फरक ढंगले मनाउने भएको छ । यो अभियान नेपाली काङ्ग्रेसले केन्द्रबाट जनताको भावनासँग प्रत्यक्ष जोडिन र कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन सुरु गरेकाे थियो । नेपाली काङ्ग्रेस पाल्पाले अभियानको अन्तिम चरणमा माघ १६ गते चापाकोट नगरपालिका-८ स्याङ्जाका शहीद सुर्य घिमिरे,बगनासकाली गाउँपालिका-५ दर्लमडाडाका शहीद मन बहादुर गाहा र माथागढी गाउँपालिका-४ झडेवा, गाेल्डीका शहीद रवि कुमार थापाकाे घरमै पुगेर विशेष सम्मान गरि सम्पन्न गर्ने भएको छ ।
नेपाली कांग्रेसले यो अभियान सहिद परिवारप्रतिको सम्मानलाई एक औपचारिक कार्यक्रम भन्दा पर लैजान खोजेको छ । सहिदहरूले लोकतन्त्र र समाजमा समानताको सपना देख्दै आफ्नो जीवन बलिदान गरेका थिए । ती सपनालाई साकार पार्न पार्टीले उनीहरूको परिवारसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र अपेक्षालाई नजिकबाट बुझ्न चाहेको छ । अभियानको क्रममा कांग्रेस पाल्पाका नेताहरूले सहिद परिवारसँगको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने प्रयास गरेका छन् ।
माघ १६ गतेको कार्यक्रम चापाकोट नगरपालिका-८ स्याङ्जाका शहीद सुर्य घिमिरेकाे निवासबाट अन्तिम चरण सुरु हुनेछ । शहिद घिमिरेकाे परिवारलाई सम्मान गर्दै, कांग्रेसले लोकतन्त्रप्रति उहाको योगदानलाई स्मरण गर्नेछ । सहिद परिवारसँग प्रत्यक्ष संवादमा उनीहरूले सामना गरिरहेका सामाजिक र आर्थिक समस्याबारे छलफल गरिनेछ । परिवारका सदस्यहरूलाई सम्मानपत्र, खादा प्रदान गर्दै पार्टीले सहिदका सपनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नेछ ।
बगनासकाली गाउँपालिका-५ दर्लमडाडाका शहीद मन बहादुर गाहाको परिवारलाई सम्मान गरिनेछ । यहाँ कांग्रेसका नेता र कार्यकर्ताहरूले परिवारसँगको भेटघाटमा सहिद गाहाको बलिदानको महत्त्वमाथि प्रकाश पार्दै, परिवारका समस्याहरू समाधान गर्न आवश्यक पहल गर्नेछन् । बगनासकालीको कार्यक्रममा सहिद परिवारलाई जनस्तरमै प्रेरणा र सम्मान दिन कांग्रेसले विशेष महत्व दिएको छ ।
माथागढी गाउँपालिकामा अन्तिम कार्यक्रम सम्पन्न हुनेछ। माथागढीका -४ झडेवा, गाेल्डीका शहीद रवि कुमार थापाकाे परिवारसँग प्रत्यक्ष भेटघाट गर्दै कांग्रेसले शहिदहरूको योगदानलाई सम्मान गर्ने र जनताप्रतिको आफ्नो जिम्मेवारी थप बलियो बनाउने प्रयास गर्नेछ । यो कार्यक्रममा सहिद परिवारलाई भावनात्मक सम्मानका साथ, पार्टीले भविष्यमा गरिने पहलहरूबारे पनि जानकारी गराउने छ ।
नेपाली कांग्रेसका पाल्पा प्रवक्ता शाेभाकर न्याैपानेले अभियानले पार्टीलाई सहिद परिवार र जनतासँगको सम्बन्ध गहिरो बनाउन सहयोग गर्ने बताउनुभयाे । “सहिद परिवारको बलिदानलाई सम्मान गर्नु हाम्रो पहिलो कर्तव्य हो । यो अभियानले उहाहरूको समस्या बुझ्न र सहानुभूति राख्न अवसर दिएको छ । यसले हाम्रो पाटीलाई थप उत्तरदायी र नजिक बनाउनेछ,” प्रवक्ता न्याैपाने भन्नुभयाे, सहिद परिवारसँगको प्रत्यक्ष संवादले पार्टीलाई उनीहरूको दैनिक जीवनका चुनौतीहरू बुझ्न र समाधान खोज्न प्रेरित गर्नेछ,प्रवक्ता न्याैपानेले बताउनुभयो ।








































Comments