नेपाली कांग्रेस पाल्पाको १०० दिने अभियान, सहिद परिवारको घरदैलोमा पुगेर सम्मान

पाल्पा – नेपाली कांग्रेस पाल्पाले सञ्चालन गरेको १०० दिने विशेष अभियान अन्तर्गत अन्तिम चरणमा सहिद परिवारको घरदैलोमा पुगेर सम्मान गर्दै अभियान समापन गरेको छ । प्रजातन्त्र,लोकतन्त्र स्थापनाका क्रममा सहादत प्राप्त गरेका स्याङ्जाका शहीद सूर्य घिमिरे वि.सं. २०४६, बगनासकाली ५ दर्लमडाडाका शहीद मन बहादुर गाहा वि.सं. २०५८ र माथागढी वडा न ४ गोल्डीका शहीद रवि कुमार थापा वि.सं. २०५९ का परिवारलाई नेपाली कांग्रेस पाल्पाले घरमै पुगेर विशेष सम्मान गरेको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम पाल्पा जिल्लाका १०० दिने अभियानका केन्द्रीय प्रतिनिधि भरत कुमार शाहले काङ्ग्रेस पाल्पाले शहीद परिवारलाई सम्मान गर्नु पवित्र कार्य भएको बताउनुभयो । उहाले भन्नुभयो, "शहीदहरूले देखाएको बाटोमा हिँड्दै, उनीहरूको सपना पूरा हुने गरी काम गर्नेछौं । सहिदहरू लोकतन्त्रका आधारस्तम्भ हुन्, उनीहरूको योगदान कहिल्यै बिर्सन सकिन्न ।" शाहले बताउनुभयो । उहाले सहिदहरूले देखाएको मार्गलाई पछ्याउँदै उहाहरूको सपना साकार पार्न निष्ठा र समर्पणका साथ अघि बढ्नुपर्ने बताउनुभयो । शहिदहरूकाे बलिदानले लोकतन्त्र र समानताको बलियो आधार तयार भएको बताउनुभयो । नेपाली कांग्रेसले सहिदहरूको सपना पूरा गर्ने कार्यमा सधैं प्रतिबद्ध रहने बताउदै सहिद परिवारलाई सम्मान र संरक्षण गर्दै, उनीहरूको समस्याहरूको समाधान गर्न सधै तयार रहने बताउनुभयो । 

 

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका निवर्तमान पाटी सभापति एवम लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले पञ्चायती शासन विरुद्ध आवाज उठाउँदा धेरैले सहादत प्राप्त गरेको बताउनुभयो । परिवर्तन र समानताका लागि सहिदहरूले गरेको बलिदानले मुलुकलाई नयाँ गन्तव्यमा पुर्‍याएको उल्लेख गर्दै, सहिदहरूको सपना पूरा गर्न सबै पक्ष एक्यवद्ध भएर लाग्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसले १०० दिने विशेष अभियानलाई पार्टी सुदृढीकरण, संगठन विस्तार तथा जनताको समस्या समाधानका लागि विभिन्न कार्यक्रम सहित अगाडि बढाइएको थियो । पार्टीले पाल्पा जिल्लामा पनि यो अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै गाउँ(गाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेको थियो ।

 

अभियानमार्फत पार्टीले नयाँ कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गर्ने, पुराना कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्ने, सरकारको नीति तथा पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने र स्थानीय जनताको गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेको नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले बताउनुभयो । पाटीले शहीदहरूको योगदान सम्झनु, उनीहरूको बलिदानको कदर गर्नु लोकतान्त्रिक दलहरूको नैतिक दायित्व अनुरूप काङ्ग्रेस पाल्पाले १०० दिने अभियान अन्तर्गत सहिद परिवारसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सम्मान गरि १०० दिने अभियान सम्पन्न गरेको बताउनुभयो । 

 

कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे र ज्ञान बहादुर गाहाको धन्यवाद र पाटी सचिव सुनिता अधिकारी र सन्तोष कुमार थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments