नेपाली कांग्रेस पाल्पाको घोषणा पत्र सार्वजनिक
पाल्पा । नेपाली कांग्रेस पाल्पाले आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमका बिच नेपाली कांग्रेस पाल्पाले आफ्नो चुनावी घोषणा पत्र शितलपाटी परिसरमा कार्यक्रम गरि सार्वजनिक गरेको हो । पाल्पा क्षेत्र नं. २ का उम्मेदवार हिमाल दत्त श्रेष्ठले आफू पार्टीको जिल्ला सभापति समेत भएकाले समग्र पार्टीको तर्फ बाट घोषणा पत्र बनाएको बताउनु भयो ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य माननीय वीर बहादुर राना, पूर्व संविधान सभा सदस्य हरि नेपाल, क्षेत्र नं. १ का सभापति मुक्तिराम जिसी, नेता कृष्ण बस्याल लगायतको उपस्थिति रहेको थियो । कार्यवाहक सभापति झपेन्द्र गहिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुनिता अधिकारिले गर्नुभएको थियो । घोषणा पत्र सार्वजनिक पश्चात् पत्रकारहरु सँग अन्तरक्रिया समेत गरिएको थियो ।
घोषणा–पत्रअनुसार पाल्पा जिल्लाको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, सुशासन र रोजगारीलाई मुख्य प्राथमिकतामा राखिएको छ । स्वास्थ्यतर्फ प्रत्येक पालिकामा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गर्ने, पाल्पा र रामपुर अस्पताललाई स्तरोन्नति गर्ने, बिमा मार्फत निःशुल्क उपचार, डायलाइसिस सेवा विस्तार तथा गर्भवती, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई विशेष सहयोग गर्ने लक्ष्य लिइएको छ । पर्यटन, कला र संस्कृतितर्फ पाल्पालाई पर्यटन हबका रूपमा विकास गर्ने, रानीमहल, राम्दी, ताल, गुफा तथा धार्मिक स्थलहरूको संरक्षण गर्ने, जात्रा, नाच, बाजा र लोकसंस्कृतिको संरक्षण गर्दै संग्रहालय स्थापना गरी रोजगारी सिर्जना गर्ने नीति लिइएको छ । कृषि क्षेत्रमा जैविक मल उत्पादन, हरित कृषि प्रवर्द्धन, सुन्तला, अदुवा, आलु, तरकारी तथा पशुपालनमा जोड दिइनेछ भने शीत भण्डारण गृह स्थापना र किसान तथा पशुपालकका लागि बीमा व्यवस्था गरिनेछ ।
भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल स्तरोन्नति, खानेपानी तथा सरसफाइको पहुँच विस्तार, बिजुली पोल सुधार, सडक बत्ती जडान र साना जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिनेछ । उद्योग र रोजगारीका लागि घरेलु तथा कुटीर उद्योग प्रवर्द्धन, लगानीमैत्री वातावरण सिर्जना तथा कोइला र चुनढुंगा उद्योगको व्यवस्थित विकास गरिनेछ । वन, वातावरण र विपद् व्यवस्थापनतर्फ वन संरक्षण, वृक्षारोपण, जल–जमिन–जंगलको सन्तुलित विकास तथा प्रत्येक पालिकामा विपद् व्यवस्थापन इकाइ स्थापना गरिनेछ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत महिला, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र अल्पसंख्यक समुदायका लागि विशेष कार्यक्रम, सामाजिक सुरक्षा र स्वरोजगार योजना सञ्चालन गरिनेछ भने बालबालिका बेचबिखन र दुर्व्यसनविरुद्ध अभियान चलाइनेछ । खेलकुद क्षेत्रमा राष्ट्रियस्तरको क्रिकेट मैदान र फुटबल स्टेडियम निर्माण गरी खेल पूर्वाधार विकास गरिनेछ । सुशासनका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाइनेछ, डिजिटल सेवा विस्तार गरिनेछ र नागरिकसँग प्रत्यक्ष संवाद तथा पारदर्शी विकास प्रणाली लागू गरिनेछ । शिक्षातर्फ पर्यटन विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सम्भाव्यता अध्ययन, आवासीय नमुना विद्यालय निर्माण, सूचना प्रविधिमैत्री शिक्षा तथा गुरुकुल र मदरसाको स्तरोन्नति गरिने लक्ष्य राखिएको छ ।








































Comments