नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको ३५ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

पाल्पा-नेपाल भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति पाल्पाको ३५ औं स्थापना दिवस तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । सेनामा आफ्नो सेवा सकाएर समाजको हितमा क्रियाशील भएका भूतपूर्व सैनिकहरूको संगठनले यो विशेष अवसरमा विविध सन्देशमूलक कार्यक्रमसहित स्थापना दिवस मनाएको हो । 

 

तानसेनमा आयोजित कार्यक्रममा संघका अध्यक्ष क्याप्टेन कमल विक्रम खाडको अध्यक्षता तथा सचिव क्याप्टेन देव बहादुर मश्राङ्गीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । समारोहमा संघका पदाधिकारी, भूतपूर्व सैनिक, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो । 

 

कार्यक्रमको सुरुवात दीप प्रज्वलन तथा स्वागत मन्तव्यबाट गरिएको थियो। स्वागत मन्तव्य दिँदै संघका उपाध्यक्ष तथा केन्द्रिय सदस्य देव बहादुर मश्राङ्गीले संगठनको हालको अवस्था, विस्तार र भविष्यको योजनाबारे जानकारी गराउँदै भूतपूर्व सैनिकहरूलाई एकताको सूत्रमा बाँध्न संघले खेलेको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । उहाँले पाल्पा जिल्लाका सबै १० वटा स्थानीय तहमा संघको संगठन विस्तार भइसकेको र यो अभियान अझ सशक्त रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । 

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले भूतपूर्व सैनिकप्रति सम्मान व्यक्त गर्दै उहाहरूको जीवनपद्धति, अनुशासन र इमानदारीबाट आजको समाजले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । उहाँले भूतपूर्व सैनिकहरू गाउँभन्दा सहर केन्द्रित भइरहेकाले गाउँघरहरू उजाड बन्दै गएको र आफ्नो जन्मभूमिमा फर्केर केही योगदान दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाले गाउँमा फर्किएर समाजको समृद्धिमा हातेमालो गर्न सक्ने हो भने गाउँहरू फेरि उज्यालो बन्ने बताउनुभयो । 

 

श्रेष्ठले आगामी निर्वाचनको सन्दर्भमा पनि उल्लेखनीय धारणा राख्नुभयो। उहाँले “अबको निर्वाचन योगदान,लोक प्रियता,योग्यता हेरेर टिकट दिनुपर्ने सस्कार र सस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।  उहाँले सामाजिक उत्तरदायित्वमा आधारित संगठन निर्माण गर्न र प्रजातान्त्रिक समाजवादको मार्गमा हिँड्दै नागरिकलाई उत्पादनमुखी बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरेले नेपाली कांग्रेस पार्टीमा भूतपूर्व सैनिकहरूको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले पार्टीका विविध आन्दोलन, अभियान तथा सामाजिक सेवामा भूपू सैनिकहरूको भूमिका सदैव अग्रणी रहेको उल्लेख गर्नुभयो।

 

त्यस्तै, कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय सदस्य विष्णु बहादुर थापा, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार अमर बहादुर थापाले पनि शुभकामना मन्तव्य दिँदै भूतपूर्व सैनिकहरू राष्ट्रको गौरवशाली सम्पत्ति हुन् भन्नेमा जोड दिनुभयो।

 

कार्यक्रमले अध्यक्ष खाडले संघको विगत ३५ वर्षको यात्रा र योगदानलाई स्मरण गर्दै भावी योजनाहरूको खाका कोर्ने प्रयत्न गरेको बताउनुभयो । सामाजिक सेवा, राष्ट्रिय हित, र अनुशासनमा आधारित अभियानहरू भूतपूर्व सैनिक संघको मूल नारा बन्ने उद्घोष गरिएको कार्यक्रममा राष्ट्रसेवकहरूको भावना अझ सशक्त र संगठित रूपमा प्रस्तुत गर्ने  अध्यक्ष खाडले बताउनुभयो । 

Comments