नागरिक बहुउद्देश्यीय सहकारी संस्था पाल्पाको छैठौँ वार्षिक साधारण सभा सम्पन्न
पाल्पा – नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पाल्पाको छैठौँ वार्षिक साधारण सभा तानसेनमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले गर्नुभयो। उद्घाटन मन्तव्यमा बोल्दै सांसद रानाले सहकारी क्षेत्र स्थानीय आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो। उहाँले सहकारीमार्फत आम नागरिकका साना–साना बचतलाई सुरक्षित राख्दै उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभयो। सहकारी केवल बचत र ऋणको कारोबारमा सीमित नभई सामाजिक रूपान्तरणको सशक्त माध्यम बन्नुपर्नेमा उहाँले जोड दिनुभयो। नागरिक बहुउद्देश्यीय सहकारीले छोटो समयमै पारदर्शिता, अनुशासन र सदस्यप्रतिको उत्तरदायित्व देखाउँदै जनविश्वास जित्न सफल भएको उहाँको भनाइ थियो । उहाँले सहकारीले आर्थिक कारोबारसँगै शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा पनि भूमिका खेल्नुपर्ने बताउनुभयो । नागरिक बहुउद्देश्यीय सहकारीले सामाजिक उत्तरदायित्वका काम गर्दै आएकोप्रति प्रशंसा गर्दै उहाँले आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित, प्रविधिमैत्री र दिगो बनाउँदै लैजानुपर्ने सुझाव दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सहकारी पारदर्शी, अनुशासित र सदस्य–केन्द्रित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयोफ। सहकारीमा सदस्यको विश्वास नै सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै उहाँले नेतृत्व इमानदार र उत्तरदायी भए सहकारीले समुदायको आर्थिक तथा सामाजिक अवस्था परिवर्तन गर्न सक्ने बताउनुभयो । नागरिक बहुउद्देश्यीय सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको भन्दै उहाँले यसले समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।
साधारण सभामा श्रीनगर बहुउद्देश्यीय सहकारीका निवर्तमान उपाध्यक्ष रुक्मागत भट्टराई, बसं गोपाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष मुक्तिराम जिसी, तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, सहकारी अभियन्ता विष्णुबहादुर गाहा तथा संस्थाका निवर्तमान कोषाध्यक्ष सुनिता अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एसईईमा ए ग्रेड प्राप्त गर्ने विद्यार्थी तथा असल ऋणी र नियमित बचतकर्ता एक जनालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष झमनबहादुर राज मगरको अध्यक्षतामा सम्पन्न साधारण सभामा भएको थियो । सहकारीमा ६ सय ५४ जना सदस्य आबद्ध रहेको जानकारी गराइएको थियो । कार्यक्रममा सहकारीका सदस्य गिरिजा गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव देवीप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। सभाको समापन गर्दै सहकारीलाई आगामी दिनमा अझ पारदर्शी, सशक्त र समुदायमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो ।








































Comments