नगर स्तरीय फुटबल प्रतियोगितामा विजयी खेलाडीद्वारा नीलसागर सेवाश्रममा भोजनदान

पाल्पा-तानसेन नगरस्तरीय फुटबल खेलकुद प्रतियोगितामा विजयी भएका खेलाडीहरूको टोलीले आफ्नो जितलाई सामाजिक सेवामा समर्पित गर्दै नीलसागर सेवाश्रमका वृद्ववृद्वालाई भोजनदान गरेका छन् । खेलकुदकाे विभिन्न विधा मध्ये फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले समुदायप्रति उत्तरदायी व्यवहार देखाएका हुन् । कार्यक्रममा खेलाडीहरूले सेवाश्रमका वृद्ववृद्वासँग समय बिताउनु भएको थियाे । भोजन दान गर्दै सेवाश्रममा रहेका नागरिकहरूकाे स्वास्थ्य र खुशीका लागि शुभकामना व्यक्त गर्नु भएको थियाे । कार्यक्रमको आयोजना खेलाडीहरूको समूह र तानसेन नगरपालिका वडा न १ काे सहकार्यमा गरिएको थियो । कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्नुका साथै खेलकुद र सेवाभावलाई एकसाथ अघि बढाउने उद्देश्य राखेको वडा सदस्य राम प्रसाद भट्टराईले बताउनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडान १ का वडा अध्यक्ष सुनिल कुमार बस्यालले नगर स्तरीय फुटबल प्रतियोगितामा विजयी भएका खेलाडीहरूले आफ्नो सफलताको खुसीका साथ सामाजिक कार्यमा संलग्न हुँदै नीलसागर सेवाश्रमका बासिन्दाहरूसँग भोजनदान गरेकोमा प्रंशसा गर्नुभयाे । कार्यक्रममा वडा अध्यक्ष बस्यालले भन्नुभयाे, "खेलाडीहरूले जितको खुसी मात्र नभई समाजप्रतिको जिम्मेवारी समेत वहन गरेको देख्दा गर्व महसुस भएको छ। यस्ता गतिविधिहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउनेछन्।"उहाले बताउनुभयो । उहाले खेलकुदले शारीरिक, मानसिक र सामाजिक विकासमा पुर्याउने योगदानबारे प्रकाश पार्दै युवाहरू यस्ता प्रतियोगितामा सहभागी भएर समाजसेवामा लाग्नु सकारात्मक कार्य रहेको  बताउनुभयो । यसैबीच तानसेन नगर स्तरीय फुटबल प्रतियाेगितामा प्रथम भइ उपाधी हात पारेका युवाहरूलाई वडाले एक कार्यक्रमका बिचमा सम्मान गरेको छ । वडा कार्यालयले युवाहरू प्राेत्साहन गरि आगामी दिन थप उज्वल भविष्यकाे कामना सहित उप्रेरित गर्नका लागि सम्मान गरेको वडाले जनाएको छ ।

 

पाैष ११ गते सम्पन्न भएको तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप फुटबल प्रतियाेगिताकाे उपाधी तानसेन वडा न १ ले हात पारेको थियाे । तानसेन वडा न १ र ९ बिच भएकाे फाइनल खेलमा वडा न १ ले वडा न ९ लाई पछि पार्दै उपाधी हात पार्न सफल भएको हाे । तानसेन स्थित टुडिखेल मैदानमा सञ्चालन भएको तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप प्रतियाेगितामा वडा न १ ले ३ गाेल गर्न सफल भएको थियाे भने तानसेन वडा न ९ ले २ गाेल हान्न सफल भएकाे थियाे । प्रतियाेगितामा प्रथम हुने तानसेन वडा न १ ले १ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । भने द्वितीय हुने तानसेन वडा न ९ ले ७५ हजार ५ सय ५५ रूपैयाँ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए  ।

Comments