माथागढीमा स्वास्थ्य र सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

पाल्पा — माथागढी गाउँपालिकाको आयोजनामा आत्महत्या न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण, नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्य सुदृढीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रममा माथागढी गाउँपालिका वडा नं. ४, ५ र ६ का जनप्रतिनिधि, विद्यालयका शिक्षक प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, परम्परागत उपचारमा संलग्न ब्यक्तिहरु लगायतका करिब ७० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरुलाई आत्महत्या न्यूनीकरणका उपायहरू, मानसिक स्वास्थ्यको महत्व, नसर्ने रोगका कारण र निवारणका तरिकाहरू तथा सडक दुर्घटना रोक्न अपनाउनुपर्ने सतर्कता र सावधानीका विषयमा विस्तृत रुपमा जानकारी दिइएको थियो ।

 

कार्यक्रममा विभिन्न विषयगत विज्ञहरूले आत्महत्या बढ्नाका कारणहरू, जोखिम संकेतहरू र आवश्यक मनोपरामर्शका उपायबारे प्रशिक्षण दिएका थिए । साथै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर जीवनशैलीमा सुधार ल्याउने उपायहरूबारे पनि छलफल गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष यम चिदीले सडक दुर्घटनाका बढ्दो घटनालाई मध्यनजर गर्दै सुरक्षित सवारी प्रयोग, ट्राफिक नियमको पालनाको आवश्यकता र समुदायस्तरमा सचेतना गराउन कार्यक्रम आयाेजना गरिएको बताउनुभयो । 

 

नसर्ने रोगका सन्दर्भमा प्रशिक्षकहरूले मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता रोगहरूबारे जानकारी गराउँदै समयमै परीक्षण र जीवनशैलीमा सुधार गर्नुको महत्वबारे जोड दिएका थिए। सहभागीहरूले प्रशिक्षणलाई निकै उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रमका  बोल्दै माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले यस्तो अभिमुखीकरण कार्यक्रमले गाउँपालिकाभित्र जनचेतना फैलाउने र स्वास्थ्यसम्बन्धी समस्याहरू न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । । उहाले आत्महत्या जस्तो गम्भीर सामाजिक समस्यालाई सामूहिक प्रयासमार्फत रोक्न सकिनेमा जोड दिनु भएको  थियाे ।

Comments