माथागढीकाे झुम्साखोला लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जाेडियाे
पाल्पा – जिल्लाको माथागढी–५, स्थित झुम्साखोला लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यहाँको सहकारीबाट सञ्चालित लघु जलविद्युत्ले उत्पादन गर्दै आएको ६८ किलोवाट जलविद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । झुम्साखोला लघु जलविद्युत् आयोजना तेस्रो राष्ट्रिय प्रशारण प्रणालीमा आबद्धता कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले लघु जलविद्युत्को करोडौँ सम्पत्ति खेर जानबाट जोगिएको बताउनुभयो । स्थानीय निकाय र उपभोक्ताको करोडौँ लगानीमा बनेकाे लघु जलविद्युत् राष्ट्रिय प्रशारणमा जोडिएपछि राज्य र नागरिकको करोडौँको सम्पत्तिको जोगिएको उहाँले बताउनुभयो । लगानी जोगाउनका लागि आफूले विगत चार वर्षदेखि नै विभिन्न निकायमा पहल गरिरहेको बताउँदै उहाँले अब यहाँका उपभोक्ताका लागि लघुजलविद्युत् योजना बरदान सावित हुने उल्लेख गर्नुभयो ।
माथागढी लगायतका क्षेत्रको विकासमा प्रदेशसभा सदस्य हुँदा होस् या संघीय सांसद हुँदा होस् आफूले निरन्तर भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयाे ।जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले खेर गएको जलविद्युत् विक्री गर्न पाउनु उपभोक्ताका लागि सुखद् पक्ष रहेको बताउनुभयो । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले विगतमा भएको विद्युत्को लाइन सुधार र थप विद्युत् उत्पादन गर्न उपभोक्ता सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो । नेपाल नवीकरणीय उर्जा कार्यक्रमका नायव निर्देशक पे्रम सागर सुवेदी र नेपाल इनर्जी फाउन्डेसनका प्रवन्ध निर्देशक डिल्ली घिमिरेले विगतमा सरकारले लगानी गरेका साना जवविद्युत् आयोजनाको निरन्तर सञ्चालन हुनु आवश्यक रहकोमा जोड दिनुभयो । सोही कार्यक्रममा यहाँका उपभोक्तालाई विद्युतीय चुलो प्रदान गरिएको छ । लघु जलविद्युत् उत्पादन भएको क्षेत्रका उपभोक्तालाई पाँच लिटरको कुक्कर, कराही र विद्युतीय चुलो प्रदान गरिएको हो ।
सहकारी संस्थाका अध्यक्ष वीरबहादुर बाह्रघरेले राष्ट्रिय प्रशारणमा जोड्नका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रम बाह्रघरेको अध्यक्षता र रोजिना शर्माको संचालनमा भएको हो ।
कार्यक्रममा हात्तीलुङ् माविमा अध्ययनरत स्काउटका विद्यार्थीले आफ्नो प्रतीभा प्रदर्शन गरेका थिए । यस्तै सहकारी संस्थालाइ सहयाेग गर्ने व्यक्ति तथा संघसंस्थालाइ सम्मान गरिएकाे थियाे । राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि यहाँको धेरै भएको विद्युत् प्राधिकरणले किन्नेछ । आवश्यक परेको बेलामा यहाँका उपभोक्ताले राष्ट्रिय प्रशारण लाइनको विद्युत् उपभोग गर्न पाउनेछन् । झुम्साखोला लघुजलविद्युत्ले उत्पादन गर्दै आएको विद्युत् माथागढी वडा नं. ५ र ६ का ५१७ घरधुरी उपभोक्ताले उपयोग गर्दै आएका छन् । यसअघि कुनै उपकरण बिग्रिए वा आयोजना स्थलमा बाढी पहिरोले क्षति पु¥याए मर्मतसुधारका लागि हारगुहार गर्नुपर्ने अवस्था रहेको थियो । अब भने सहकारीले थप विद्युत् बिक्री गर्न पाउनेभएपनि यसको संचालन दीगो हुने विस्वास गरिएको स्थानीय बासिन्दा एवं संस्थाका पूर्व सचिव खेमान सारुले जानकारी दिनुभयो ।








































Comments