माथागढी गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण सुरू
पाल्पा – माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ । जग्गा प्राप्ति नहुँदा लामो समयसम्म प्रशासकीय भवन बन्न सकेको थिएन । स्थानीय बासिन्दाले जग्गा दान गरेपछि माथागढी–४, झडेवा फाँटमा साढे आठ रोपनी जग्गामा आधुनिक प्रशासकीय भवन निर्माणको काम सुरु गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । पालिकाको भवन बनाउनका लागि स्थानीय डा. सुर्यबहादुर जिसी, गोविन्दबहादुर जिसी, श्यामबहादुर जिसीले जग्गा दान गर्नुभएकोमा अध्यक्ष चिदीले धन्यवाद दिनुभयाे ।
पालिकाले प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाको ४० र सङ्घीय सरकारको ६० प्रतिशत खर्च हुनेछ । भवन निर्माणका लागि कुल ६ करोड ७६ लाख ८५ हजार रुपियाँ खर्च लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । पालिकाकाे प्रशासकीय भवन बनेपछि प्रशासन, कृषि, पशु, शिक्षा, प्राविधिक, लेखा, स्वास्थ्य, महिला, बालबालिका
तथा जेष्ठ नागरिक शाखालगायतको सेवा प्रवाह गर्न सहज हुने घिमिरेले बताउनुभयो ।
अहिले तत्कालिन झडेवा गाविसको एक तले भवनबाट सेवा प्रवाह भइरहेको छ । उक्त भवन साँघुरो हुँदा सेवा दिन असहज भएको छ । भवन निर्माण आगामी २०८२ चैत २२ गतेभित्र सक्ने सम्झौतामा उल्लेख भएको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो । भवन बनेपछि यस भेगका नागरिकलाई पालिकाले दिने सेवालाई प्रभावकारी बनाउन सहज हुने प्रवक्ता दर्लामीले बताउनुभयो । भवनको आइतबार गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, उपाध्यक्ष विष्णुमाया लुङ्चे, जग्गादातालगायतले शिलान्यास गर्नुभयो । भवनसँगै घेराबार, कम्पाउण्ड, तीन सय जना क्षमताको हलसहितको संरचना तयार हुनेछ ।








































Comments