महेश खनालको अध्यक्षतामा पाल्पा जेसीजको नयाँ कार्यसमिति गठन

पाल्पा, पाल्पा जेसीजको ४६ औँ जिल्ला अधिवेशनबाट वर्ष २०२६ का लागि जेसी महेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले कार्यकारी उपाध्यक्षमा जेसी गणेश पन्थी र जेसी सतिसराज शाक्यलाई चयन गरेको छ भने उपाध्यक्षमा जेसी प्रकाश कार्की, जेसी सुनिल पंगेनी, जेसी दुस्यान्त भण्डारी र जेसी निजाम दिन मियाँ चयन भएका छन् । त्यसैगरी जनसम्पर्क अधिकारीमा जेसी पवन कुंवर र सचिवमा जेसी बालकृष्ण बस्याल चयन भएका छन् । उक्त जानकारी निर्वाचन अधिकृत तथा पाल्पा जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी राजिव श्रेष्ठले दिएका हुन् । 

 

अधिवेशनको उद्घाटन पाल्पा जेसीज वर्ष २०१६ का अध्यक्ष जेसी रिलनमान महर्जनले गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि महर्जनले नवनिर्वाचित अध्यक्ष खनाल नेतृत्वको समितिलाई बधाई दिँदै वर्ष २०२५ का अध्यक्ष विवेक काजी शाक्य नेतृत्वको कार्यसमितिले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे। उनले जेसीजको उद्देश्य र भावनाअनुसार नयाँ नेतृत्वले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

 

कार्यक्रममा पाल्पा जेसीजका संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले समाज र राष्ट्रको विकासका लागि युवाहरू एकजुट भएर अघि बढ्नु आजको आवश्यकता भएको बताए। वर्ष २०२५ का अध्यक्ष अर्जुन कार्कीले युवाहरूलाई थप सक्रिय बनाउँदै समाज, राष्ट्र र जेसीजको विकासका लागि नयाँ नेतृत्वले सशक्त भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष खनालले आफूलाई जिम्मेवारी सुम्पने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै वर्ष २०२६ लाई नेतृत्व तथा व्यक्तित्व विकासका विविध रचनात्मक कार्यक्रममार्फत शाखालाई अझ क्रियाशील बनाउने प्रतिबद्धता जनाए।

 

कार्यक्रम वर्ष २०२५ का अध्यक्ष विवेक काजी शाक्यको अध्यक्षता, कार्यकारी उपाध्यक्ष जेसी विजय कार्कीको स्वागत मन्तव्य तथा महासचिव जेसी गणेश पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । पाल्पा जेसीज १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूद्वारा सञ्चालित एक अन्तर्राष्ट्रिय संस्था हो, जसले युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ ।

Comments