महा शिवरात्रीमा जलेश्वरधाम शिवपुराण महायज्ञ–२०८२ भव्य रूपमा सम्पन्न
पाल्पा-महा शिवरात्रीको पावन अवसरमा महा शिवरात्री का दिन जलेश्वरधाम मा सञ्चालन भएको ११ दिने “जलेश्वरधाम शिवपुराण महायज्ञ–२०८२” भव्य तथा श्रद्धापूर्ण वातावरणमा सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. ५ स्थित धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको उक्त पवित्र भूमिमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञ अवधिभर दैनिक शिवपूजन, रुद्राभिषेक, भजन–कीर्तन तथा शिवपुराण कथा प्रवचन कार्यक्रमहरू सञ्चालन गरिएका थिए भने हजारौँ भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
महायज्ञ मूल आयोजक समिति संयोजक बेणिमाधव आचार्यको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो । साथै गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सि., वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कार्कीले जलेश्वरधामको धार्मिक तथा ऐतिहासिक पहिचानलाई अझ सुदृढ बनाउन महायज्ञले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाले धार्मिक पर्यटन प्रवर्द्धन, संरचना निर्माण तथा क्षेत्रको संरक्षणमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा एकता, सद्भाव र सकारात्मक ऊर्जा प्रवाह गर्ने उल्लेख गर्दै स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले महायज्ञ सफल बनाउन योगदान दिने आयोजक समिति, स्वयंसेवक, सुरक्षाकर्मी तथा सम्पूर्ण श्रद्धालुहरूलाई धन्यवाद व्यक्त गर्नुभयाे । उहाले यस्ता कार्यक्रमहरूले स्थानीय अर्थतन्त्र चलायमान बनाउन समेत सहयोग पुग्ने धारणा राख्नुभयो । ११ दिनसम्म सञ्चालन भएको उक्त शिवपुराण महायज्ञ सभ्य, भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ ।








































Comments