मछेन्द्र देवी मन्दिर निर्माणको शिलान्यास, गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईद्वारा उद्घाटन
पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. २ देलुङ्गामा अवस्थित धार्मिक आस्थाको केन्द्र मछेन्द्र देवी मन्दिर निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाहरूको श्रद्धा र विश्वाससँग जोडिएको यस मन्दिरको शिलान्यास एक विशेष कार्यक्रमबीच सम्पन्न भएको हो । मन्दिर निर्माणले गाउँमा धार्मिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
उक्त मन्दिर निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ८ लाख रुपैयाँ,सिजि सिमेन्ट प्रा लीबाट २ लाख तथा स्थानीय जनप्रतिनिधि र समुदायको सक्रिय पहलमा रूपैयाँ २५ लाख रुपैयाँ बजेट व्यवस्थापन निर्माण कार्य शुरू गरिएको छ । मन्दिरलाई आकर्षक र व्यवस्थित ढंगले निर्माण गरिनेछ, जसले भविष्यमा धार्मिक पर्यटकहरूलाई समेत आकर्षित गर्ने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले विधिवत रूपमा पूजाआजा गरी मन्दिर निर्माणको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले मन्दिर निर्माणले स्थानीय समुदायमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै गाउँको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले यस्ता धार्मिक तथा सांस्कृतिक पूर्वाधारहरूले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष दान बहादुर पौडेल सहित वडा सदस्यहरू, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले मन्दिर निर्माण कार्य समयमै सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै यस कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रमले स्थानीय स्तरमा एकता र सहकार्यको भावना बलियो बनाएको सहभागीहरूको भनाइ थियो ।








































Comments