लायन्स क्लब अफ पाल्पा तानसेनद्वारा बगनासकालीमा कुमाल होम स्टेको तयारी

पाल्पा-लायन्स क्लब अफ पाल्पा तानसेनले बगनासकाली गाउँपालिका वडा नं. १ स्थित घाेरबन्दामा रहेको कुमाल समुदायलाई आत्मनिर्भर बनाउन र उनीहरूको संस्कृतिलाई प्रवर्द्धन गर्नका लागि कुमाल होम स्टे सञ्चालनको तयारी सम्बन्धमा छलफल एवम अन्तरक्रिया गरेको छ । यो योजना कुमाल समुदायको जीवनस्तर उकास्दै पर्यटकीय गन्तव्यका रूपमा गाउँलाई स्थापित गर्ने उद्देश्यले अगाडि सारिएको क्लबले जनाएको छ । 

 

कुमाल समुदायको परम्परागत जीवनशैली, हस्तकला, र मौलिक खानालाई प्रचार-प्रसार गर्दै गाउँमा पर्यटक आकर्षित गर्ने सोचसँगै यो होम स्टे परियोजना अघि बढाइएको हाे । माटोका भाँडा बनाउने कुमाल समुदायको सीप र कला उनीहरूको पहिचानको अभिन्न अंश हो । यसलाई पर्यटकका लागि विशेष आकर्षणको रूपमा विकास गर्न प्रयास गरिनेछ ।

 

लायन्स क्लब अफ तानसेन पाल्पाका सस्थापक अध्यक्ष एवम तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले परियोजनाले कुमाल समुदायका लागि दीर्घकालीन लाभ पुर्‍याउने बताउनुभयो । यस कार्यक्रमले सिमान्तकृत कुमाल समुदायकाे मौलिकतालाई जोगाउँदै आर्थिक क्रियाकलापमा वृद्धि गर्ने बताउनुभयो । कार्यक्रम केवल एउटा औपचारिक क्रियाकलाप नभई यहाँको कुमाल समुदायको जीवनस्तर सुधार्न र उनीहरूको मौलिक पहिचानलाई प्रवर्द्धन गर्न एउटा महत्वपूर्ण कोसेढुङ्गा हुने बताउनुभयो ।

 

माटोका भाँडाकुँडा बनाउने परम्परागत सीप, उनीहरूको मौलिक खानपान, र जीवनशैलीले पर्यटकहरूलाई नयाँपन दिन्छ । तर ती सीप र परम्पराहरू अहिलेको समयमा संरक्षण र प्रवर्द्धनको खाँचो रहेको बताउनुभयो । यस अवस्थामा, लायन्स क्लब अफ पाल्पा तानसेनद्वारा अघि सारिएको कुमाल होम स्टे परियोजना एउटा उज्यालो किरण बनेर आएको बताउनुभयो ।  आजको विश्वव्यापीकरणको समयमा पर्यटकीय क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ । पर्यटकहरू केवल प्राकृतिक दृश्यावलोकनमा सीमित छैनन्; उनीहरू समुदायसँग अन्तरक्रिया गर्न, स्थानीय संस्कृति अनुभव गर्न, र मौलिक खानाको स्वाद लिन चाहन्छन् । कुमाल होम स्टेले पर्यटकहरूकाे इच्छालाई सम्बोधन गर्ने उत्कृष्ट माध्यम बन्नसक्ने बताउनुभयो । यो परियोजनाले कुमाल समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन मात्र सीमित नभइ,यसले उनीहरूको सीप र कला संरक्षण गर्दै नयाँ पुस्तालाई पनि प्रेरित गर्ने बताउनुभयो । योजनाले बगनासकालीलाई  राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

 

कार्यक्रममा लायन्स क्लब अफ तानसेन पाल्पाका अध्यक्ष राजिव कुमार शाहले क्लबले हालसम्म होम स्टे सञ्चालन सम्बन्धी प्रारम्भिक अध्ययन पूरा गरिसकेको बताउनुभयो । कुमाल समुदायलाई होम स्टे व्यवस्थापन, अतिथि सत्कार, र स्थानीय उत्पादन प्रवर्द्धन गर्ने विषयमा आवश्यक तालिम दिइने तयारी गरिएको बताउनुभयो । कुमाल हाेम स्टेमा पर्यटकलाई स्थानीय संस्कृति र परम्पराको अनुभव दिलाउने खालका गतिविधिहरू सञ्चालन गरिने बताउनुभयो । माटाका भाँडा बनाउने कार्यशालादेखि परम्परागत नृत्य र गीत प्रस्तुति सँगै स्थानीय कुमाल समुदायमा प्रचलित खानपान रितिरिवाज लाई जोड दिइने बताउनुभयो । लायन्स क्लब अफ तानसेन पाल्पाले होम स्टे सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, प्रचार-प्रसार, र पर्यटकहरूको पहुँचलाई सहज बनाउनका लागि अन्य साझेदार संस्था र सरकारी निकायहरूसँग सहकार्य गर्ने योजना बनाएको बताउनुभयो । 

 

कार्यक्रममा बगनासकाली गाउँपालिका वडा न १ का वडा अध्यक्ष शेर बहादुर चिदीले कुमाल होम स्टे परियोजनाले बगनासकालीको कुमाल समुदायलाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा सशक्त बनाउन ठूलो योगदान पुर्‍याउने विश्वास लिएकाे बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अफ तानसेन पाल्पाका काेषाध्यक्ष लक्ष्मण रेग्मी र रिजन २ का रिजन चियर पर्सन सुरेश भट्टराईले कुमाल होम स्टे सञ्चालनले कुमाल समुदायको आर्थिक अवस्था सुधार गर्दै परम्परागत सीप र संस्कृति संरक्षण गर्ने बताउनुभयो । यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजार विस्तार गर्नेछ । सामुदायिक आत्मनिर्भरता र दिगो विकासका लागि यो परियोजना महत्वपूर्ण हुने भएकाले समुदायले चासाे लिएर यस्काे प्रभावकारी सञ्चालन र प्रवर्द्वनमा लाग्नुपर्ने बताउनुभयो । 

 

स्थानीय उषा कुमालले हाल बगनासकाली गाउँपालिका वडा न १ काे घाेरबन्दामा कुमाल समुदायका झण्डै १ सय ५० घर परिवार बसाेबास गर्दै आएकाे बताउनुभयो । सिमान्तकृत समुदायका नागरिककाे रूपमा रहेका कुमाल समुदायलाई हाेम स्टे सञ्चालन परियोजनाले समुदायको पहिचान र कला संरक्षणका लागि यो ठूलो अवसर रहेको बताउनुभयो । यस परियाेजनाले कुमाल समुदायकाे आर्थिक सवलीकरणकाे माध्यमबाट जीवनस्तरमा सुधार हुने बताउनुभयो । झण्डै १ सय जनाकाे उपस्थितिमा भएको कार्यक्रममा कुमाल समुदायका १० घर परिवारलाई ६० वटा कुखुराका चल्ला समेत वितरण गरिएकाे लायन्स क्लब अब तानसेन पाल्पाका निवर्तमान अध्यक्ष अमन श्रेष्ठले बताउनुभयो । कार्यक्रम क्लबका सचिव तथा कार्यक्रमका संयाेजक धिरज बज्राचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियाे । कार्यक्रमकाे अवसरमा कुमाल हाेम स्टे सञ्चालनकाे सम्भावना,यस्का फाइदा,उपलब्ध,अवसर र चुनाैतीका बारेमा प्रशिक्षण दिइएको थियाे ।

Comments