लायन्स क्लब अफ पाल्पा तानसेनको अध्यक्षमा वज्राचार्य चयन, सामाजिक सेवामा सक्रियता बढाउने प्रतिबद्धता
पाल्पा — लायन्स क्लब अफ पाल्पा तानसेनको २०२५/२६ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ नेतृत्वको जिम्मेवारी धिरज बहादुर वज्राचार्यले पाउनु भएको छ। प्रथम उपाध्यक्षमा विवेक काजी शाक्य, द्वितीय उपाध्यक्षमा रविन्द्र आर्चाय, सचिवमा लक्ष्मण रेग्मी र कोषाध्यक्षमा विरेन्द्र मिधुन चयन हुनुभएको क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष तथा तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागर मान महर्जनले क्लबले स्थापना कालदेखि नै “हामी सेवा गर्छौं” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा क्लबको योगदान उल्लेखनीय रहेको बताउँदै नयाँ कार्यसमितिलाई पनि यसलाई अझ प्रभावकारी र नियमित रुपमा अघि बढाउन आग्रह गर्नुभयो । महर्जनले विशेषगरी कम अवसर प्राप्त वर्ग, विपन्न, असहाय तथा विपद् प्रभावितलाई सहयोग पुर्याउन क्लबले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पाल्पामा रहेका सबै लायन्स क्लबहरू एक अर्काबीच समन्वय गर्दै एकताबद्ध भएर जिल्लाको पर्यटन प्रवर्द्धन, सामाजिक विकास र मानव सेवा जस्ता क्षेत्रमा योगदान दिनुपर्नेमा जोड दिनुभयो । पाल्पाको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदालाई प्रचार-प्रसार गर्न क्लबहरूबाट हुने क्रियाकलाप महत्वपूर्ण हुने बतानुभयेा । श्रेष्ठले लायन्स क्लबहरूले आयोजना गर्ने सामाजिक कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
कार्यक्रममा एम्बेसडर अफ गभर्नर भीम बहादुर श्रेष्ठ, ग्याभर्नर टिम अफ इभ्यालुएसन लिडर सुशील प्रधान, डिस्टिकका चिफ एडभाइजर मधु दयाल शैजु, निवर्तमान अध्यक्ष अमन श्रेष्ठ, लायन सबिन मल्ल, अरुण ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष राजिव कुमार शाहले गर्नुभएको थियो। उहाँले आफ्नो कार्यकालमा क्लबले सञ्चालन गरेका विविध सामाजिक सेवा कार्यक्रमहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
नव-निर्वाचित अध्यक्ष वज्राचार्यले क्लबलाई अझ सक्रिय र परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गर्दै सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने तथा नविन कार्यक्रमहरू ल्याउने बताउनुभयो । लायन्स क्लब अफ पाल्पा तानसेनले विगतमा स्वास्थ्य शिविर, रक्तदान, शैक्षिक सहयोग, वातावरण संरक्षण लगायतका सामाजिक गतिविधि गर्दै आएको छ । नयाँ कार्यसमितिले पनि यी कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने जनाएको छ।








































Comments