लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिद्वारा ४२ विद्यार्थीलाई सहयोग

पाल्पा-लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिको आयोजनामा तानसेन नगरपालिका–१३ छेर्लुङमा अवस्थित राधाकृष्ण प्राथमिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।  जाडो मौसमका कारण विद्यार्थीहरूलाई पर्न सक्ने स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको थियो । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लबको यो कार्यले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यालय परिवार र अभिभावकहरूमा खुसी छाएको देखिन्थ्यो ।

 

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्टका सिनियर डिष्ट्रिक्ट एडभाइजर एम जे एफ भिम बहादुर श्रेष्ठ रहनुभएको थियो । उहाँले लायन्स क्लबले शिक्षा र बालकल्याणको क्षेत्रमा गर्दै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो । “बालबालिका राष्ट्रका भविष्य हुन् । उनीहरूलाई सुरक्षित, स्वस्थ र शिक्षित बनाउनु हामी सबैको साझा दायित्व हो,” भन्दै उहाँले यस्ता मानवीय कार्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिलाई निरन्तर सामाजिक सेवामा सक्रिय रहन प्रेरणा दिँदै धन्यवाद ज्ञापन गर्नुभयो ।

 

कार्यक्रमका प्रायोजक तथा संयोजक, समाजसेवी एम जे एफ  गोपाल पौडेलले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूको आवश्यकतालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको बताउनुभयो । उहाले वितरण गरिएको न्यानो कपडाले बालबालिकाको पढाइमा थप उत्साह र आत्मविश्वास बढाउने बताउनुभयो । समाजसेवामा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथि  वडा सदस्य गीता भट्टराईले लायन्स क्लबले शिक्षा र समाजसेवाको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । विद्यालय परिवारका तर्फबाट विद्यालय प्रमुख तथा शिक्षकहरूले लायन्स क्लबप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गरिएकोमा धन्यवाद ज्ञापन गर्नुभयाे । विद्यार्थीहरू न्यानो कपडा स्वरूप स्विटर र टाेपी पाउँदा अत्यन्तै खुसी देखिन्थे, जसले कार्यक्रमको सार्थकता स्पष्ट रूपमा देखाएको छ । 

 

कार्यक्रमको समापनमा लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिका अध्यक्ष रुक्मागत शर्माले उपस्थित सम्पूर्ण अतिथिहरू, विद्यालय परिवार, स्थानीय समाजसेवीहरू तथा क्लबका सम्पूर्ण लायनहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले क्लबको तर्फबाट आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा यस्तै सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो । न्यानो कपडा वितरणजस्तो कार्यक्रमले समाजमा सहयोग, सद्भाव र मानवताको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Comments