लिपिन्देवी मन्दिरमा कोजाग्रत पूर्णिमा तयारी तिब्र : सराय नाचलाई प्राथमिकता

पाल्पा । ऐतिहासिक धार्मिक तथा सांस्कृतिक स्थल दुर्गा भवानी माता लिपिन्देवी मन्दिर परिसरमा यस वर्षको कोजाग्रत पूर्णिमा अवसरमा सूर्या यात्रा तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ भव्य रूपमा आयोजना गरिने भएको छ । धार्मिक आस्था र कला–संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको मन्दिर व्यवस्थापन समितिले यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउन विशेष तयारी थालेको छ ।

 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खातीका अनुसार यस वर्षको कार्यक्रमको विशेष आकर्षणको रूपमा सराय नाच लाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो — “लोपोन्मुख संस्कृतिको रूपमा रहेको सराय नाच हाम्रो पहिचान हो। यसलाई संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो दायित्व हो, त्यसैले यस वर्षको कार्यक्रममा सराय नाचलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्न लागिएको बताउनुभयो । 

 

कार्यक्रममा बसन्त लम्साल, यशोदा कार्की, कमल भट्टराई, सर्पेश कार्की, शिव थापा, राजन थापा, पवन बराल, रामकृष्ण थापा, रमेश श्रेष्ठ र गोकुल सारु लगायतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् । साथै, छम छम कला केन्द्र र सोभाग्य  कला केन्द्रका कलाकारहरूले पनि नृत्य, लोकगायन र सांस्कृतिक झाँकी प्रस्तुत गर्नेछन्।

 

दुई दिनसम्म चल्ने उक्त कार्यक्रम २०८२ असोज २० गते ९शनिबार० साँझ ७स्३० बजेदेखि सुरु भई २०८२ असोज २१ गते ९आइतबार० बिहान ११स्३० बजेदेखि निरन्तर रूपमा सञ्चालन हुने बताइएको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मन्दिर व्यवस्थापन समिति र स्थानीय युवा समूहले गर्नेछन् ।

 

अध्यक्ष खातीका अनुसार यस पटकको कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले थप्नुभयो — “हामीले कोजाग्रत पूर्णिमालाई देवीको आराधनासँग जोडेर हाम्रो परम्परागत नाचगान र संस्कृतिलाई पुनर्जीवन दिने प्रयास गरेका छौँ । यस अवसरमा स्थानीय समुदायको सहभागिता अत्यधिक रहनेछ भन्ने विश्वास रहेको बताउनुभयो । 

 

कार्यक्रममा सूर्या यात्रा समेत आयोजना गरिनेछ, जसमा भक्तजनहरूले दुर्गा भवानी माता श्री लिपिन्देवी मन्दिर वरिपरि धार्मिक यात्रामा सहभागी हुन सक्नुहुनेछ । मन्दिर व्यवस्थापन समितिले सबै श्रद्धालु भक्तजन, स्थानीयवासी, पाल्पा, गुल्मी, स्याङ्जा र अर्घाखाँचीका नागरिकलाई परिवारसहित उपस्थित भई देवी आराधना र सांस्कृतिक प्रस्तुति अवलोकन गर्न अनुरोध गर्नुभएको छ । कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र पाल्पाको लोपोन्मुख सराय नाचलाई पुनः राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ । 

 

Comments