लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ पाल्पाको अध्यक्षमा राजेन्द्र केसी

पाल्पा — नेपाली कांग्रेस निकट संस्था लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ पाल्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट निर्माण व्यवसायी राजेन्द्र केसी सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले अध्यक्षसहित अन्य पदाधिकारीहरूको पनि सर्वसम्मत चयन गरेको हो । जस्काे उपाध्यक्षमा शंकर बहादुर खाड, द्वितीय उपाध्यक्षमा राजेश कार्की, महासचिवमा थान बहादुर कुँवर, उप महासचिवमा सुरेन्द्र ढेंगा र प्रकाश ज्ञवाली चयन हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा अमन प्रसाद श्रेष्ठ, सह-कोषाध्यक्षमा विष्णु सेन ठकुरी चयन हुनुभएको छ । भने सदस्यहरूमा किरण मल्ल, केशव बहादुर मल्ल, गम्बर सिंह सिङ्जाली, युवराज चिदी, पवन कुँवर, देवेश बज्राचार्य, माधव पौडेल, राजन प्रसाद श्रेष्ठ र भरत केसी चयन हुनुभएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सरकारले नीति निर्माण गर्दा निर्माण व्यवसायी तथा उपभोक्ताहरूको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीहरूले तोकिएको समयमै काम सम्पन्न गरे पनि सरकारबाट भुक्तानी नपाएको गुनासो आउने गरेको छ । सरकारले अबको नीति निर्माण प्रक्रियामा व्यवसायी र उपभोक्ताको हित केन्द्रित हुनुपर्ने बताउनुभयो । त्यस्तै निर्माण व्यवसायीहरूले पनि गुणस्तरीय र उपभोक्ताहरूको हितलाई केन्द्रबिन्दुमा राखी विकास निर्माणका कार्यहरूलाई सम्पन्न गर्न आग्रह गर्नुभयो । सरकारी तरवबाट सार्वजनिक वित्त व्यवस्थापन र उत्तरदायित्वसम्बन्धी प्रावधानहरूलाई प्रभावकारी कार्यान्वयन गरी समयमै भुक्तानी दिने प्रणालीलाई सुदृढ बनाउनु अत्यावश्यक रहेको कुरामा सभापति श्रेष्ठ जाेड दिनुभयाे । साथै, नीति निर्माणको प्रत्येक चरणमा सरोकारवालाको सहभागिता सुनिश्चित गर्नु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष रहेकाले यसतर्फ ध्यान दिदै व्यवसायी र उपभोक्ताको हितलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठ, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका केन्द्रीय सदस्य रुद्र सिंह शर्मा,लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष विश्वकुमार चन्द, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका लुम्बिनी प्रदेशका विभागीय प्रमुख भेसराज पौडेल, निर्माण व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका सदस्य उदय घिमिरे, नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा व्यवसायी पुरुषोत्तम केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

बन्द सत्रको कार्यक्रम नेपाल तरुण दल पाल्पाका अध्यक्ष मेजरसिंह केसीको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य युवा व्यवसायी तथा नेपाली कांग्रेसका महासमिति सदस्य शंकर रायमाझीले दिनुभएको थियो । उहाँले लोकतान्त्रिक मूल्य र सिद्धान्तमा आधारित संस्थागत एकताको आवश्यकता औँल्याउँदै व्यवसायीहरूबीच सहकार्य र विश्वास कायम गर्न यो अधिवेशनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष राजेन्द्र केसीले निर्माण व्यवसायीहरूको हकहितको संरक्षण, पारदर्शिता, समन्वय र समस्या समाधानमा संघलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघलाई सबै व्यवसायीहरूको साझा मञ्च बनाउँदै सहकार्यको वातावरण बनाइने बताउनुभयो । नीति तहदेखि व्यवहारिक समस्यासम्म समाधानका लागि संघले भूमिका खेल्ने बताउनुभयो । अधिवेशनमार्फत पाल्पा जिल्लामा निर्माण व्यवसायीहरूको सङ्गठित आवाज बुलन्द बनाउने दिशा तय भएको विश्वास लिइएको निर्वाचन अधिकृत कृष्ण अर्यालले बताउनुभयो ।

 

Comments