खस्यौलीका ७४ किसानलाई साढे ६ क्विन्टल मकै दाना वितरण
पाल्पा—रिब्दीकोट गाउँपालिका–३ खस्यौलीका किसानहरूलाई पशुपालनको पोषण सुधार गर्ने उद्देश्यले मकै दानाको वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पशुको पोषणका लागि प्रतिकिसान ८७ किलोग्रामका दरले ७४ जना किसानलाई मकै दाना वितरण गरिएको हो । कृषकहरूको लागत साझेदारीमा जम्मा ६ हजार पाँच सय किलोग्राम मकै दाना उपलब्ध गराइएको वडा अध्यक्ष नारायण बहादुर केसीले जानकारी दिए । पशु आहारको अभावका कारण दुध उत्पादनमा देखिँदै आएको समस्या समाधान गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष केसीको भनाइ छ । उनले पोषणयुक्त दाना प्रयोगले गाईभैँसीको स्वास्थ्यमा सुधार आउनुका साथै दुध उत्पादन बढ्ने र किसानको आम्दानीमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
वडा कार्यालयको पहलमा सम्पन्न कार्यक्रममार्फत वितरण गरिएको मकै दाना पशुपालनमा संलग्न साना तथा मध्यम किसानका लागि निकै उपयोगी हुने अपेक्षा गरिएको छ । अध्यक्ष केसीका अनुसार परम्परागत घाँस र परालमा मात्र निर्भर रहँदा पशुहरूको पोषण आवश्यकता पूरा हुन नसक्ने अवस्था रहेकाले यस्तो पोषण दाना आवश्यक थियो । मकै दानाले पशुहरूलाई आवश्यक ऊर्जा प्रदान गर्ने भएकाले दुध उत्पादन मात्र नभई पशुको समग्र स्वास्थ्य सुधारमा समेत योगदान पुग्ने उनको भनाइ छ । यस किसिमको कार्यक्रमले किसानलाई पशुपालनप्रति थप आकर्षित गर्नुका साथै आधुनिक कृषि अभ्यासतर्फ उन्मुख गराउने विश्वास लिइएको छ । वडाले आगामी दिनमा समेत यस्तै उत्पादनमुखी र आयआर्जन बढाउने कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको अध्यक्ष केसीले बताए ।
मकै दाना वितरण कार्यक्रममा सहभागी हुँदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दीकोट गाउँपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम अघि बढाउँदै आएको बताए । उनले कृषिकर्मबाट नै किसानलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै यस्ता पोषण दाना वितरण कार्यक्रमले किसानलाई स्वरोजगार र आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने बताए । अध्यक्ष कार्कीका अनुसार गाउँपालिकाबाट वार्षिक रूपमा ४१ करोड रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य उत्पादन बिक्री हुँदै आएको छ, जसले स्थानीय अर्थतन्त्रमा ठूलो भूमिका खेलेको छ । यो आँकडालाई अझै बढाउन किसानहरूको सक्रिय सहभागिता, आधुनिक प्रविधिको प्रयोग र पोषण व्यवस्थापनमा सुधार अपरिहार्य रहेको उनले जोड दिए ।
मकै दाना पाएपछि गाईँभैँसीको दुध उत्पादन वृद्धि हुने अपेक्षाले किसानहरू पनि उत्साहित देखिएका छन् । किसानहरूका अनुसार दानाको अभावका कारण पशुलाई आवश्यक मात्रामा पोषण दिन नसक्दा उत्पादन घट्ने समस्या थियो, तर अब त्यो समस्या क्रमशः समाधान हुने आशा गरिएको छ । दुध उत्पादन बढेपछि घरेलु आवश्यकतासँगै बजारमा बिक्री गरेर थप आम्दानी गर्न सकिने भएकाले यो कार्यक्रमले जीवनस्तर उकास्न मद्दत गर्ने किसानहरूको भनाइ छ । स्थानीय तहबाट गरिएको यस सहयोगले किसान र जनप्रतिनिधिबीचको सहकार्यलाई अझ बलियो बनाएको छ । दीर्घकालीन रूपमा यस्ता कार्यक्रमले गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।








































Comments