कार्तिक १ गते तानसेन कैलाशनगर स्थित श्रीनगर डबलीमा हुन लागेको मौलिक देउसी भैलोको तयारी पूरा !

पाल्पा । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान पाल्पा शाखाको आयोजना र तानसेन नगरपालिका वडा नं. ५ को सहआयोजनामा  यही कार्तिक १ गते तानसेन कैलाशनगर स्थित श्रीनगर डबलीमा हुन लागेको मौलिक देउसी भैलो कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएका छन् । 

 

तानसेन नगरपालिकाको संरक्षकत्वमा हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष कमल भट्टराईले जानकारी गराउनुभयो । प्रतिष्ठानले तानसेनमा पत्रकार भेटघाट गरी जिल्लामै पहिलो पटक यसप्रकारको कार्यक्रम हुन लागेको जनाएको छ । 

 

कार्यक्रममा चर्चित कलाकार नारायण रायमाझी सहितका कलाकारहरुको प्रस्तुती रहनेछ । बिभिन्न कलाकेन्द्रका प्रस्तुतीसँगै मौलिक देउसी भैलो समेत दर्शकले हेर्न पाउने अध्यक्ष भट्टराइले बताउनुभयो । 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले उक्त कार्यक्रमको सफलताका लागि पाल्पाली संचार क्षेत्रको तर्फबाट हुन सक्ने रहने बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ५ का अध्यक्ष राम बहादुर रावलले वडा नं. ५ को गहनाको रुपमा रहेको श्रीनगर डवलीको सदुपयोग हुन लागेकोमा खुशी ब्यक्त गर्नुभयो । 

 

कार्यक्रममा प्रतिष्ठान पाल्पाका पुर्व अध्यक्ष हुम गैरेले उक्त कार्यक्रम नमुना हुने बिश्वास ब्यक्त गर्नुभयो । पत्रकारहरु रामचन्द्र रायमाझी, यज्ञमूर्ति तिमिल्सिना, मन गहिरे, कृष्ण दर्नाल, सन्तोष बस्याल, अनिल लिगल, बिष्णु खनाल, कमल अधिकारी, गुणवती केसी लगायतले कार्यक्रमको सन्दर्भमा जिज्ञाशा तथा सुझाव राख्नुभएको थियो । 

 

पत्रकार भेटघाट कार्यक्रम प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रुपेश कार्कीको स्वागत, कार्यक्रम संयोजक पवन बस्यालको संचालन र प्रतिष्ठानका पाल्पा अध्यक्ष कमल भट्टराईको संचालनमा चलेको थियो । 

Comments