कालीगण्डकी करिडोर दुई ठूला देशलाई जोड्ने सडक हो : गृहमन्त्री लेखक

पाल्पा, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कालीगण्डकी करिडोर दुई ठूला अर्थतन्त्र भएका देशहरुलाई जोड्ने सडक रहेको बताउनु भएको छ । बुधबार इलाका प्रशासन कार्यालय रामपुरको भवन उट्घाटन गर्नुहुदै संसारको करिडोर ठूला अर्थतन्त्र भएका देश चीन र भारतलाई जोड्ने प्रमुखमार्गको रुपमा स्थापित भएको बताउनु भएको हो । रामपुर देशको अत्यन्त सम्मुन्नत स्थान भएको बताउँदै यसको जीवन रेखा कालीगण्डकी करिडोर रहेको बताउनुभयो । चीन संग जोड्ने कोरोला नाका सरकारले अध्यागमनको कार्यालय स्थापना गरेको जानकारी दिदै चिन बाट नेपाल आउने र नेपाल बाट चिन तर्फ जान पनि सहज हुने बताउनुभयो । “उत्तर तर्फ दुई देश विचको प्रदेश द्वार हामीले खोलिसक्यौ । भारत संग पनि खुल्ला छ । करिडोर दुई देशलाई जोड्ने बाटो बनेको छ । ” उहाँले भन्नुभयो । कालीगण्डकी सभ्यताको इतिहास पूर्वीय दर्शनको आफ्नै महत्व रहेको बताउँदै कालीनदी किनारमा रहेको रामपुर प्रकृतिको अनुपन उपहार रहेको बताउनुभयो ।

 

गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सरकारले उद्योग धन्दा, व्यवसाय, नागरिकलाई दिने सेवा सबै कुराको लागि पूर्ण रुपले शान्ति सुरक्षा प्रदान गर्दै आएको बताउनुभयो । देशमा भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो देशमा जति सुकै ठूला मान्छे किन नहोस् यदि अपराध गरेको छ भने कानुन बमोजिम अनुसन्धान हुन्छ । न्यायिक प्रक्रियामा जानु पर्छ ।”

 

नागरिकलाई सहज र सरल रुपले सेवा प्रदान गर्नका लागि सरकार लागिरहेको बताउनुभयो । “सरकारको पहिलो प्राथमिकता भनेको नागरिकलाई सेवा प्रदान गर्नु हो । हामी यो विषयमा चिन्तित छौं । नागरिकलाई कुनै समस्या नहुने गरेर सेवा दिन हामी लाग्छौं ।” उहाँले भन्नुभयो । कार्यक्रमको अवसरमा कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र सेवाको शुभारम्भ गर्नुहुँदै उहाँले कर्मचारीको अभाव र कुनै पनि सामाग्रीको कारणले कुनै पनि हालतमा सेवा अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाउनुभयो । इलाका प्रहरी कार्यालय रामपुरमा डिएसपी सहितको दरबन्दी थपका लागि मातहतका निकायलाई निर्देशन समेत दिनुभयो । कार्यक्रमको अवसरमा कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र सेवाको शुभारम्भ गर्नुहुँदै उहाँले कर्मचारीको अभाव र कुनै पनि सामाग्रीको कारणले कुनै पनि हालतमा सेवा अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाउनुभयो । रामपुर संग आफू नजिक रहेको भन्दै याहाका समस्याहरु समाधानका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पाल्पाको रामपुर क्षेत्र बाट महत्वपूर्ण कार्यहरुको सुरुवात हुँदै आएको स्मरण गराउँदै पाल्पामा सबै राजनैतिक दलहरु एकताबद्ध भएर सार्वजनिक चासोका विषयमा सहकार्य गरेर अघि बढेको बताउनुभयो । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले धार्मिक तथा आर्थिक हिसाबमा कालीगण्डकी उपत्यका सम्भावना भएको स्थान भएको बताउँदै  कालीगण्डकी करिडोरले यहाँका जनताको भाग्य रेखा कोरेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन उपसमितिका सभापति राजु प्रसाद श्रेष्ठले याहाँको विकासको लागि जनप्रतिनिधिहरु निरन्तर रुपमा लाग्दै आएपनि नतिजा दिन नसक्दा जनतामा निराशा छाएको बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य विर बहादुर रानाले मुलुकको समृद्धिको पक्षमा सबै राजनैतिक दलहरु एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले संघियता कार्यान्वयनका सवालमा देखिएका समस्याहरुलाई नीतिगत सम्बोधन हुने गरी निकास दिनुपर्ने बताउनुभयो ।रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले रामपुर नगर र जिल्लाको पूर्वी क्षेत्रका पालिकाको शान्ति सुरक्षाका लागि रामपुरमा डिएसपी सहितको प्रहरी दरबन्दी र सशस्त्र प्रहरी बलको क्याम्प आवश्यक रहेको आवश्यक रहेको बताउनुभयो । धार्मिक नदी कालीगण्डकीलाई डाईभर्सन गर्नु कुरा याहाँका जनताले कुनै हालतमा स्वीकार नगर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिनाले आफ्नै भवन बाट सेवा प्रवाह संगै सेवा विस्तार हुनु खुशीको कुरा रहेको बताउनुभयो ।

 

कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले सरकारी सेवा सुविधालाई सरल र सहज रुपमा प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो  । उहाँले अब लाईन लागेर नभै अनलाईन बाटै सेवा प्रवाहका लागि सरकार लागेको बताउनु भयो । १४ कोठा सहितको कार्यालयको भवन चार करोड ३४ लाखमा निर्माण भएको जानकारी दिदै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले भवन निर्माण संगै राहदानी र राष्ट्रिय परिचय पत्र सेवा शुभारम्भ गरिएको जानकारी दिनुभयो ।कार्यक्रमको अवसरमा बासुरी मोबाईल जेभी निर्माण कम्पनीका प्रतिनिधि खिम बहादुर केसी पुरुषोत्तमलाई कार्यालयले समय मै निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरेको थियो ।

 

२०७३ सालमा स्थापना भएको  इलाका प्रशासन कार्यालयले रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गरी जिल्लाको तीन पालिका भित्रका १७ वडाका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको स्वागत र प्रशासकीय अधिकृत दिनेश ज्ञावलीको सञ्चालनमा भएको हो ।

Comments