कांग्रेसले अहिले नै ८४ को निर्वाचन बारे सोच्न नहुने महामन्त्री थापाको धारणा

पाल्पा, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनमा घोषण पत्र नभै रिपोर्ट पत्र लिएर जाने गरी अघि बढ्न आग्रह गर्नु भएको छ । उहाँले विकासलाई अघि बढाउँदै आगामी निर्वाचनमा जनत माझ रिपोर्ट पत्र लिएर जाने गरी अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको हो ।

 

नेपाली कांग्रेस पूर्वखोला गाउँकार्य समितिले बुधबार आयोजना गरेको ‘प्रथम लोकतान्त्रिक महोत्सव’ लाई सम्बोधन गर्दै उहाँले कांग्रेसले अहिले नै ०८४ सालको निर्वाचन बारे सोच्न नहुने धारणा समेत व्यक्त गर्नुभयो । उहाँले समयको महत्वलाई बुझ्‌नु पर्नेमा जोड दिनुभयो । थापाले भन्नुभयो , ‘नेपाली कांग्रेसले समयको महत्व बुझ्नु पर्छ । कांग्रेसले ०८४ को चुनावबारे अहिले चर्चा गर्न पाउँदैन । अहिलेसम्म एउटै पार्टीले सरकार बनाउन सकेको छैन । चुनावी एकता गरेर पनि सम्भव भएन । चुनावपछि एउटा पार्टीले बहुमत ल्याउन नसके पार्टी मिलेर सरकार बनाउनु पर्छ । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएको छ ।’

 

कसैलाई पनि काम नगर्ने छुट नभएको भन्दै थापाले भन्नुभयो, ‘अहिले जसले पनि ०८४ पछि देश बनाउँछु भनेका छन् । अबको तीन वर्ष के गर्ने त ? बीपीको सरकार जम्मा १८ महिना चलेको हैन ? मनमोहनको सरकार ९ महिना चलेको हैन ? काम गर्नेलाई तीन वर्ष बढी नै हो । तसर्थ तीन वर्षको समयका लागि कांग्रेसले मिसन ०८४ हैन मिसन गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारी भन्नुपर्छ ।’ निर्वाचनको विषयमा भन्दा पनि कांग्रेस र एमाले नेतृत्वको सरकारले अबको तीन वर्ष भित्र विकासको जग बसाल्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेसको कुनै दुस्मन नभएको र दुस्मन कोही छ भने त्यो गरिबी भएको बताउनुभयो । देशमा विकासको गति चार गुणाले अघि बढाउनु पर्ने बताउनुभयो । ८० देखि ९० सम्मको दश वर्ष नेपालले अभूत पूर्व प्रयोग गरेर विकासको गतिलाई बढाउनु पर्ने बताउनु भएको हो ।

उहाँले विगतको तुलनामा विकास धेरै भए पनि अझ अपुग रहेको बताउनुभयो । “२०८० देखि ९० सम्मको दश वर्ष कुनै पनि राजनैतिक लडाईमा खेर फाल्ने होईन । यो दश वर्षको नेपालले अभूत पूर्व प्रयोग गरेर हाम्रो विकासको गतिलाई कम्तीमा पनि चार गुणाले बढाउनु पर्छ ।” उहाँले भन्नुभयो । मुलुकमा केही भएन केही हुँदैन भन्ने भाष्यको निर्माण भैरहेको प्रति चिन्ता व्यक्त गर्दै थापाले भन्नुभयो, “असन्टुष्टी व्यक्त गर्नुस् तर देश बिग्रियो, बिग्रियो, भत्कियो, अध्याँरो भो, सबै कुरा कालो बादल मडारिएको छ । चाँदीको घेरा कहीँपनि छैन भनेर हुर्किदै गरेको सानो छोराछोरी नातिनातिनालाई दिन रात भन्नुहुन्छ भने नेपालमा उनलाई नराख्नको निम्ती सबै भन्दा जिम्मेवार तपाई नै हो ।” हामी सबै मिलेर देश बनाउने हो भन्ने भाष्य निर्माण गर्न सके मात्र मुलुकको विकासले गति लिने बताउनुभयो ।

 

“हामी संग तीन वर्षको समय छ । यो समयमा १८ महिनामा विपि कोइरालाले गर्नु भएको कामलाई सम्झिएर, ३६ महिनामा गिरिजा प्रसाद कोइरालाको नेतृत्वले गरेको काम बाट प्रेरणा लिएर, कृष्ण प्रसाद भट्टराईले एक वर्ष भन्दा कम समय संविधान बनाएको काम बाट प्रेरणा लिएर, सशिल कोइरालो ७० सालमा संविधान बनाएको र शेर बहादुर देउवा नेतृत्व गर्दै गर्दा संविधान कार्यान्वयन गरेका ती सफल काम बाट प्रेरणा लिएर अघि बढ्नु पर्छ ।” उहाँले भन्नुभयो । उहाँले अन्य दिवसको तुलनामा फागुन सातको आफ्‌नै महत्व रहेको बताउनुभयो । नेपाली जनता रैती बाट नागरिक भएको दिन मात्र नभै नेपालको आधुनिक यात्रा प्रारम्भ भएको दिन भएकाले नयाँ पुस्तालाई फागुन ७ को महत्वबारे जानकारी दिनु आवश्यक रहेको बताउनुभयो ।

 

पूर्वखोला गाउँपालिका–३ रिङ्नेरह हाटबजार मैदानमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सय दिने अभियानका पाल्पा प्रतिनिधि भरत शाह, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुन, काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, जिल्लाका निवर्तमान सभापति एवं लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना, प्रदेश सहमहामन्त्री निमा गिरी, काँग्रेस प्रदेश सदस्य सन्दिप राना, नेपाल महिला संघकी केन्द्रीय सदस्य पवित्रा पौड्याल ढकाल, काँग्रेस जिल्ला उपसभापति ज्ञानबहादुर गाहा, काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

 

महोत्सवको अवसरमा स्थानीय साँस्कृतिक झाँकी प्रदर्शन संगै स्थानीय उत्पादनको प्रर्दशनी एवं विक्री र निःशुल्क स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन भएको थियो । काँग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिका सभापति विष्णु कुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति मेघराज न्यौपानेको स्वागत र सचिव गोपाल रानाको सञ्चालनमा भएको थियो ।

Comments