ज्ञानेन्द्र अटो वर्क्सद्वारा ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, यामाहा मोटरसाइकल तथा स्कुटरहरुका लागि पाल्पाको आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वर्क्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । वर्क्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तानसेन नगरपालिका–१२ बौघापोखराथोकस्थित सार्वजनिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।  

 

चिसो बढ्दै गएपछि वक्र्सले  विद्यालयमै पुगेर ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । चिसो बढेकाले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीहरु बढी मात्रमा प्रभावित हुने भएकाले उनीहरुलाई केही राहत होस् भनि आइतबार एक कार्यक्रमकाबिच विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको वर्क्सका व्यवस्थापक विवेककाजी शाक्ले  दिए । 

 

कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष मेजर सिं केसीले  सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत समुदायका विद्यार्थीहरूको चिसो मौसममा सुरक्षा सुनिश्चित गर्न ज्ञानेन्द्र अटोवर्कले चालेको कदम प्रशंसनीय रहेको बताउनुभयो । चिसोले पढाइ प्रभावित नहोस्, विद्यार्थीहरू आत्मविश्वास साथ विद्यालय जान सकून् र उनीहरूको स्वास्थ्य पनि सुरक्षित रहोस् भन्ने यो प्रयास असाधारण मात्र होइन, अनुकरणीय रहेको वडा अध्यक्ष केसीले बताउनुभयो । विद्यार्थीहरूलाई वितरण गरिएको न्यानो कपडा मात्र नभई विद्यार्थी प्रतिकाे माया, जिम्मेवारी, र आशाको प्रतीक रहेको बताउनुभयो । विद्यार्थीहरूले यो अवसरलाई आफ्नो पढाइमा थप उर्जा र प्रेरणा प्रदान गर्ने गरि अग्रसर हुन आग्रह गर्नुभयाे । 

 

कार्यक्रममा वर्क्सका डाइरेक्टर विरेन्द्रकाजी शाक्यले विगतदेखि नै आफुहरुले विपन्न, दृष्टिविहीन जस्ता असक्त विद्यार्थीहरुका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिर्दै जाने बताउनुभयो । कार्यक्रममा डाइरेक्टर विवेक काजी शाक्यले ज्ञानेन्द्र अटाे वर्क्सले प्रत्येक बर्ष सामाजिक उत्तरदायित्व भावना अनुरूपमा भाैगाेलिक हिसाबले विकटता रहेकाे व्यक्ति,संघ सस्थामा पुगी सामाजिक कार्य गर्दै आएकाे बताउनुभयो । वितरित न्यानाे कपडाले विद्यार्थीहरूलाई चिसाे माैसममा राहत प्रदान गर्ने बताउनुभयो ।

 

कार्यक्रममा डाइरेक्टर विरेन्द्रकाजी शाक्य र ज्ञानेन्द्रकाजी शाक्यले संयुक्त रुपमा विद्यार्थीलाई कपडा हस्तान्तरण गर्नुभएको थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले विद्यार्थीहरुप्रति वर्क्सले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिनुभयाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षता र  प्रअ रामकुमारी थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments