जेनजी प्रदर्शनप्रति नेपाली कांग्रेस गम्भीर, लोकतान्त्रिक सुधार र राष्ट्रिय एकतामा जोड
पाल्पा-नेपाली कांग्रेस पाल्पाले हालै सम्पन्न जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै लोकतान्त्रिक सुधार र राष्ट्रिय एकताको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ । पार्टीले देश अहिले गलत दिशातर्फ गइरहेको र त्यसलाई सही मार्गमा ल्याउने जिम्मा पुनः नेपाली कांग्रेसकै काँधमा रहेको जनाएको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनलाई सामाजिक सञ्जालको स्वतन्त्रता र सुशासनको पक्षमा उभिएको जनआवाजका रूपमा कांग्रेसले लिएको छ । तर तत्कालीन सरकारले प्रदर्शनका मागहरू बेवास्ता गरेपछि आन्दोलन फरक दिशातर्फ मोडिएको टिप्पणी गर्दै कांग्रेसले सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । सभापति शेरबहादुर देउवा लगायत नेतामाथि भएको आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
कांग्रेसले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने स्पष्ट सन्देश दिँदै राज्य सञ्चालनका क्रममा देखिएका त्रुटि र त्यसबाट जनतामा फैलिएको असन्तुष्टिलाई आत्मसमीक्षा गर्दै सुधारको बाटो लिनुपर्ने आवश्यकता औंल्याएको छ । संविधान धर्मग्रन्थ नभई समयानुकूल संशोधन गर्न सकिने जीवित दस्तावेज भएको उल्लेख गर्दै पार्टीले विगतका आन्दोलनले ल्याएका उपलब्धि, मूल्य र संरचना भत्काउने प्रयासविरुद्ध सचेत रहन आह्वान गरेको छ ।
पार्टीले नेतृत्व तहदेखि स्थानीय तहसम्म युवाहरूको निश्चित प्रतिशत सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ । नेपालमा रहेका लोकतान्त्रिक, परम्परागत र वामपन्थी शक्तिहरू भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने अवस्थाको विश्लेषण गर्दै कांग्रेसले वी.पी. कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति नै देश जोगाउने मूल अस्त्र हुने पुनः स्मरण गराएको छ ।
जिल्लास्तरमा प्रस्तुत सुझावहरूमा पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र अनुशासन बलियो पार्ने विषयहरू प्रमुख छन् । कांग्रेसले बहुदलीय व्यवस्था पुनःस्थापनापछि सार्वजनिक पदमा रहेका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, भ्रष्टाचार र अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिनुपर्ने र कांग्रेस भएकै कारण कसैलाई संरक्षण नगर्नुपर्ने जनाएको छ । त्यस्तै असन्तुष्टि पार्टीभित्रै राख्न, जनप्रतिनिधिले पार्टीसँग समन्वय गरेर काम गर्न,कार्यकर्ताको मूल्याङ्कन योगदान र क्षमताका आधारमा गर्न, भातृ संगठनहरूलाई मर्यादित र प्रभावकारी बनाउँदै पार्टीको नियन्त्रणमा राख्नुपर्ने प्रस्ताव पनि गरिएको छ । राज्यका तीनै तहको बजेट वितरण दबाब र प्रभावका आधारमा नभई औचित्य र आवश्यकताका आधारमा हुनुपर्ने र पार्टी अभिलेख प्रणालीलाई प्रविधिमैत्री बनाउने सुझाव पनि समावेश गरिएको छ ।
कांग्रेसले समाजमा बढ्दो दण्डहीनता अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै नेतृत्व र जनप्रतिनिधिमा सामाजिक उत्तरदायित्व, अनुशासन र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिएको छ । व्यक्तिगत र गुटगत प्रवृत्ति अन्त्य गरी संस्थागत भावनाको विकास गर्नुपर्ने र लोकतान्त्रिक मूल्य र मान्यतामा चुनौती आउने गतिविधिप्रति सचेत रहन आह्वान गरिएको छ । पार्टील यदि देशको बदलिँदो परिस्थितिलाई समयमै बुझ्न सकिएन भने इतिहासले क्षमा गर्ने छैन । सधैं इतिहासको व्याज खाएर टिक्न सकिँदैन, युगको आवाज बुझेर भविष्यका पाइला अघि बढाउनैपर्ने निष्कर्षमा भनिएको प्रबत्ता शोभाकर न्यौपानेले जानकारी दिनुभयो । ३३ औ बैठक सभापती हिमाल दत्त सभापतीत्वमा र सचिब संन्तोष थापा मगरको सञ्चालनमा समन्न भएको थियो ।








































Comments