जलेश्वरधाम शिवपुराण महायज्ञ–२०८२ को तयारीका लागि छलफल तथा अन्तरक्रिया सम्पन्न
पाल्पा-रिब्दीकोट गाउँपालिका वडा नं. ५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जलेश्वर मन्दिर (धाम) मा आगामी मिति २०८२ साल माघ २२ गतेदेखि फागुन ०३ गतेसम्म सञ्चालन हुने “जलेश्वरधाम शिवपुराण महायज्ञ–२०८२” को सफल आयोजनाका लागि सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पौष १९ गते सम्पन्न उक्त कार्यक्रम महायज्ञ मूल आयोजक समितिका अध्यक्ष बेणिमाधव आचार्यको अध्यक्षतामा आयोजना गरिएको हो । कार्यक्रम महायज्ञका संरक्षक तथा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो । धार्मिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको महायज्ञलाई व्यवस्थित, सभ्य र सफल रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको उक्त छलफलमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न उपसमितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा वडा नं. ५ का जनप्रतिनिधिहरू, मूल आयोजक समितिका पदाधिकारीहरू, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरू, धार्मिक अगुवा तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम रिब्दीकोट–५ स्थित जलेश्वर मन्दिर (धाम) को प्राङ्गणमा सम्पन्न भएको हो । सहभागीहरूले महायज्ञ सञ्चालनको समग्र व्यवस्थापन, धार्मिक विधि, प्रचार–प्रसार, स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, आवास, भोजन, यातायात तथा सरसफाइ जस्ता विविध पक्षहरूमा विस्तृत छलफल गरेका थिए । विशेष गरी महायज्ञ सञ्चालनका क्रममा आइपर्न सक्ने सम्भावित समस्या, चुनौती तथा जोखिमहरू पहिचान गर्दै तिनको समाधानका उपायहरूबारे गहन विमर्श गरिएको थियो । स्थानीय तह, आयोजक समिति र समुदायबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै महायज्ञलाई नमुना धार्मिक कार्यक्रमका रूपमा स्थापित गर्ने विषयमा सहभागीहरूबीच एकमत देखिएको थियो ।
कार्यक्रममा महायज्ञ सञ्चालनका लागि आर्थिक पक्ष अत्यन्तै महत्वपूर्ण हुने निष्कर्ष निकाल्दै त्यसको व्यवस्थापनबारे विशेष छलफल गरिएको थियो । महायज्ञ सफल पार्न आवश्यक आर्थिक स्रोत जुटाउन समिति, उपसमिति तथा स्थानीय बासिन्दाहरूबाट सक्दो आर्थिक सहयोग (दान) संकलन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको जानकारी दिइएकाेथियाे । कार्यक्रमका प्रमुख अतिथि तथा महायज्ञ संरक्षक रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले महायज्ञको सफलताका लागि व्यक्तिगत तर्फबाट रु. १ लाख सहयोग (दान) प्रदान गर्दै आयोजक समितिलाई उत्साह थप्नुभएको छ । उहाँले महायज्ञ धार्मिक मात्र नभई सामाजिक एकता, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनको माध्यमसमेत बन्न सक्ने उल्लेख गर्दै सम्पूर्ण सरोकारवाला पक्षहरूलाई आ–आफ्नो क्षेत्रबाट आर्थिक, भौतिक तथा श्रमदानमार्फत सहयोग गर्न हार्दिक आह्वान गर्नुभयो । साथै उहाँले गाउँपालिकाको तर्फबाट आवश्यक सहजीकरण र समन्वय गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित मूल आयोजक समिति, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरूले पनि आ–आफ्नो तर्फबाट महायज्ञ सहयोगका लागि विभिन्न रकम दान गर्ने प्रतिबद्धता जनाएका छन् । कतिपयले नगद सहयोगको घोषणा गरेका छन् भने कतिपयले सामग्री, श्रम तथा सेवामार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको अन्त्यमा महायज्ञ सञ्चालनका लागि आवश्यक सम्पूर्ण पक्षहरूमा साझा धारणा निर्माण गर्दै “जलेश्वरधाम शिवपुराण महायज्ञ–२०८२” लाई ऐतिहासिक, भव्य र सफल बनाउने प्रतिबद्धतासहित छलफल कार्यक्रम समापन गरिएको थियो । मूल आयोजक समिति, विभिन्न उपसमितिहरू तथा रिब्दीकोट गाउँपालिकाका सम्पूर्ण सरोकारवाला पक्षहरू आ–आफ्नो जिम्मेवारी र क्षेत्रबाट उत्साहपूर्वक लागिपर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।








































Comments