जिल्ला समन्वय समिति पाल्पाको समन्वयात्मक बैठक तानसेन नगरपालिकामा सम्पन्न
पाल्पा -जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा र तानसेन नगरपालिकाको व्यवस्थापनमा जिल्ला स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा पाल्पा जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रमुख कोष नियन्त्रक, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, बन कार्यालयका प्रमुख, तानसेन नगरपालिकाका वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकमा चालु आर्थिक वर्षको बजेट विनियोजन र खर्चको अवस्था, राजस्व संकलनको लक्ष्य र प्रगति, मुख्य योजना तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, स्थानीय शिक्षा ऐन, खानीजन्य र नदीजन्य पदार्थको उत्खनन् र प्रयोगको अवस्था, किसान सेवा कार्डको कार्यान्वयन लगायत विविध विषयहरूमा छलफल भएको थियो ।
बैठकले चालु आर्थिक वर्षमा बजेट खर्च र राजस्व संकलनको प्रगतिबारे समीक्षा गर्दै कार्यक्षमता अभिवृद्धिका लागि थप समन्वय गर्नुपर्ने आवश्यकता औंल्याएको छ । स्थानीय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन र विद्यालय व्यवस्थापनमा सुधार गर्न आवश्यक पहलको लागि सहमति जुटाइएको छ । बैठकमा खानीजन्य र नदीजन्य पदार्थहरूको उत्खनन् तथा प्रयोगमा नियन्त्रण र नियमनका लागि स्पष्ट मापदण्ड तयार गर्नुपर्नेमा जोड दिइएको छ ।
किसान सेवा कार्डको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा सुधार गर्दै कृषकहरूलाई यस योजनाबाट थप लाभान्वित गराउने निर्णय पनि बैठकमा गरेको छ । बैठकले जिल्लाका मुख्य योजना र कार्यक्रमहरूको कार्यान्वयनलाई तीव्रता दिन, प्राविधिक तथा प्रशासनिक पक्षलाई सुदृढ बनाउन र समन्वयका प्रयासलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । कार्यक्रम तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठकाे स्वागत र नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चायकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments