हेरिटेज राइड २०८२: रानीमहलदेखि पाल्पा दरबारसम्म लुम्बिनी प्रदेश स्तरीय अपहिल साइकलिङ च्यालेन्ज

पाल्पा-लुम्बिनी प्रदेशको ऐतिहासिक, सांस्कृतिक तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यका साथ हेरिटेज राइड २०८२ अन्तर्गतलुम्बिनी प्रदेशस्तरीय हेरिटेज टु हेरिटेज अपहिल साइकलिङ च्यालेन्ज प्रतियोगिताको दर्ता खुला गरिएको छ । माघ १७ गते हुने पाल्पाका दुई महत्वपूर्ण ऐतिहासिक धरोहर—रानीमहलदेखि पाल्पा दरबारसम्म—को १६ किलोमिटर कठिन अपहिल मार्गमा आयोजना हुने यस प्रतियोगिताले प्रदेशभरका साइकलिङ खेलाडीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । ऐतिहासिक रानीमहलबाट सुरु भई पाल्पा दरबारमा पुगेर सम्पन्न हुने यो अपहिल साइकलिङ च्यालेन्ज खेलकुदसँगै पर्यटन र सम्पदाको प्रवर्द्धन गर्ने एक विशेष अभियानका रूपमा लिइएको छ । उकालो बाटो, घुमाउरो सडक र प्राकृतिक सौन्दर्यले भरिएको यो मार्गले खेलाडीहरूको सहनशक्ति, सीप र आत्मविश्वासको कडा परीक्षा लिने पाल्पा जिल्ला साइकलिङ संघका अध्यक्ष रूपेश महर्जनले बताए  । 

 

प्रतियोगिता लुम्बिनी प्रदेश स्तरीय भएकाले सहभागी हुनका लागि केही निश्चित नियम तथा शर्तहरू तोकिएका छन् । आयोजकका अनुसार प्रतियोगितामा १६ वर्ष उमेर पूरा गरेका लुम्बिनी प्रदेशभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउनेछन् । साथै, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने खेलाडी मात्र नभई, कम्तीमा एक वर्षदेखि लुम्बिनी प्रदेशभित्र कार्यरत खेलाडीहरूले पनि सहभागिता जनाउन सक्नेव्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि दर्ता शुल्क १५०० रुपैयाँ तोकिएको छ । उक्त शुल्कमा प्रतियोगिता अवधिभरको केही आधारभूत सुविधा समेटिएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रमअनुसार १६ गते सहभागी खेलाडीहरूका लागि होटलको व्यवस्था गरिनेछ भने १७ गते खाजा तथा खाना सहित होटल व्यवस्थापन गरिनेछ । यसले बाहिरी जिल्लाबाट आउने खेलाडीहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ । 

 

खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता अवधिभर बीमाको व्यवस्था गरिएको आयोजकले बताएका छन् । बीमा सम्बन्धी थप जानकारी र प्रक्रियाका लागि सहभागीहरूले आयोजक पक्षसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । जोखिमयुक्त अपहिल साइकलिङ भएकाले स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिएको आयोजकको भनाइ छ । हेरिटेज राइड २०८२ ले खेलकुद मात्र नभई पाल्पाको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा प्रादेशिक स्तरमा उजागर गर्ने विश्वास लिइएको छ । रानीमहल र पाल्पा दरबार दुबै नेपाली इतिहास, कला र संस्कृतिसँग गहिरो रूपमा जोडिएका धरोहर हुन् । यी धरोहरलाई जोड्ने साइकलिङ यात्रा आफैंमा एक सन्देश रहेकाे छ । 

 

स्थानीय स्तरमा साइकलिङ संस्कृतिको विकास, युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने तथा साहसिक खेलप्रतिको रुचि बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको पाल्पा साइकलिङ संघका बिज्ञान बज्राचार्यले बताए ।  पछिल्ला वर्षहरूमा नेपालमा अपहिल साइकलिङप्रति आकर्षण बढ्दै गएको सन्दर्भमा, लुम्बिनी प्रदेश स्तरीय यस्तो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । 

प्रतियोगिता सम्बन्धी थप जानकारी, दर्ता प्रक्रिया तथा बीमासम्बन्धी विवरणका लागि इच्छुक खेलाडीहरूले सुबिन मान बज्राचार्य(९८६७८२८६०१) वा शान्तम मान थैब (९८६७३४०२२०) मा सम्पर्क गर्न सक्नेछन् । हेरिटेज राइड २०८२ अन्तर्गतको यो अपहिल साइकलिङ च्यालेन्जले पाल्पाको पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने र लुम्बिनी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यका रूपमा चिनाउने विश्वास गरिएको छ ।

Comments