गाउँमै स्वास्थ्य सेवा: कुमाल समुदायका ७५ जनाले पाए खकार परीक्षण सेवा
पाल्पा–बगनासकाली गाउँपालिका–२ पोखराथोककी मैया कुमाल उमेरले वृद्ध हुनुहुन्छ । उमेर बढ्दै जाँदा स्वास्थ्यसम्बन्धी साना–ठूला समस्या देखिनु स्वाभाविक नै हो । केही समयदेखि उहाँलाई लगातार खोकी लाग्ने समस्या थियो । तर टाढाको स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनु उहाँका लागि सहज थिएन । “हामी जस्ता वृद्धलाई अस्पतालसम्म पुग्न पनि गाह्रो हुन्छ, गाउँमै यस्तो स्वास्थ्य शिविर आएपछि धेरै सहज भयो,” उहाँले भन्नुभयो । गाउँमै खकार परीक्षण र स्वास्थ्य जाँच सेवा पाएपछि आफू निकै खुसी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस्ता स्वास्थ्य शिविरले गाउँका वृद्धवृद्धा र आर्थिक रूपमा कमजोर समुदायका मानिसलाई विशेष राहत मिल्छ । उहाँले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँजस्तै शिविरमा सेवा लिन आउनुभएका राम बहादुर कुमालले पनि गाउँमै स्वास्थ्य सेवा उपलब्ध हुँदा समुदायका धेरै मानिस लाभान्वित भएको बताउनुभयो । अर्की सेवा ग्रहिता दुर्गा कुमालले पनि यस्ता शिविरले विशेषगरी कुमाल समुदायका बासिन्दालाई स्वास्थ्यप्रति सचेत बनाउन मद्दत गरेको बताउनुभयो । उहाँले गाउँका धेरै मानिसले स्वास्थ्य जाँच नियमित रूपमा गराउँदैनन्, तर शिविर आएपछि धेरैले परीक्षण गराउने अवसर पाएका छन् । शिविरमा सहभागी धेरै स्थानीयले स्वास्थ्यकर्मीबाट रोगका लक्षण, सावधानी तथा उपचारका विषयमा जानकारी पनि पाएका थिए ।
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको आयोजनामा तथा पोखराथोक स्वास्थ्य चौकी, बगनासकाली गाउँपालिका–२ पोखराथोकको समन्वयमा कुमाल समुदायलाई लक्षित गर्दै खकार परीक्षण तथा स्वास्थ्य शिविर आयोजना गरिएको हो । समुदायमा क्षयरोगबारे सचेतना फैलाउने र प्रारम्भिक चरणमै रोग पहिचान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छन । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बगनासकाली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तिर्थ प्रसाद भट्टराई सहभागी हुनुभएको थियो । उहाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता शिविर निकै महत्वपूर्ण हुने बताउनुभयो । समुदायका मानिसले समयमै स्वास्थ्य जाँच गराएमा धेरै रोगको उपचार सहज हुने बताउनुभयाे । कार्यक्रममा डाक्टर सुरेन्द्र गैरेले क्षयरोगको लक्षण, सावधानी र उपचारका विषयमा जानकारी गराउनुभयो । उहाँले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, राति पसिना आउने र तौल घट्ने जस्ता लक्षण देखिएमा तुरुन्त परीक्षण गराउनुपर्ने जानकारी दिनुभयाे ।
कार्यक्रममा पोखराथोक स्वास्थ्य चौकीका प्रमुख सरोज काफ्लेले पनि मन्तव्य राख्दै समुदायमै पुगेर सेवा दिन पाउँदा स्वास्थ्यकर्मीहरू उत्साहित भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना अझै बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिका कार्यपालिका सदस्य गीता रेग्मी, नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाका सदस्य शकुन्तला बज्राचार्यले स्वास्थ्य सचेतना बढाउन सामुदायिक सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँहरूले समुदायका सबै नागरिक स्वास्थ्यप्रति सचेत भएमा धेरै रोगबाट बच्न सकिने बताउनुभयाे । शिविरमा कुल ७५ जनाले खकार परीक्षण, स्वास्थ्य जाँच तथा परामर्श सेवा लिएका थिए ।
कार्यक्रम संस्थाका उपाध्यक्ष शुलोचना शाहको स्वागत मन्तव्यबाट सुरु भएको थियो । उहाँले संस्थाले समुदायमा क्षयरोग नियन्त्रण र सचेतना अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विधान श्रेष्ठले गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले विशेषगरी ग्रामीण तथा पिछडिएको समुदायमा स्वास्थ्य सेवा पुर्याउन संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव झपेन्द्र गैरेले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । संस्थाका सचिव गैरेले यस्ता स्वास्थ्य शिविरले रोगको प्रारम्भिक परीक्षण मात्र नभई समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण काम गर्ने विश्वास गरेको थियो । सहभागीहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य कार्यक्रम नियमित रूपमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।








































Comments