गाउँमै सामाजिक सुरक्षा भत्ता पाउदा खुसी
पाल्पा – बगनासकाली–९ चापपानीका गोपाल भट्टराई (८४) को अनुहारमा आइतबार खुसीको मुस्कान देखिन्थ्यो । किनकी गाउँमै वृद्धभत्ता पाएपछि सहर जानुपर्ने बाध्यता हटेको थियो । बैंक गाउँमै गएर उहाँको हातमा १२ हजार थमाएपछि उहाँ प्रफुल्ल देखिनुभयो । भत्ताको रकमले उहाँले आफूलाई हातखर्च सहज भएको बताउनुभयो ।
‘वृद्ध भत्ता लिन तानसेन पुग्नुपथ्र्यो, त्यहाँ आइजाइ, खाजा र यताउता गर्दा झण्डै हजार सकिन्थ्यो,’ भट्टराईले भन्नुभयो, ‘तर गतवर्षदेखि बगनासकालीको वडा कार्यालयबाटै पैसा पाएको छु । हातैमा पैसा आयो, खुसी त कति कति !’ बगनासकालीको सवै वडा कार्यालयमा बैंक पहुँच छैन । सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमै हाल्नुपर्ने भएपछि यहाँका वृद्धवृद्धा त्यसका लागि कि त पाल्पाको तासनेन पुग्नुपर्छ कि त गाउँ कार्यपालिकाको कार्यालयको काउण्टर पुग्नुपर्छ । सामाजिक सुरक्षा भत्ता लिनका लागि दिन माया मारेर जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नेपाल बैंकसँगको सहकार्यमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । यो पटक सामाजिक सुरक्षा भत्ता वितरणको अभियान वडा नं. ९ चापपानीबाट गरिएको गाउँपालिका अध्यक्ष सरस्वती (दर्लामी) चिदी ले बताउनुभयो । यो अभियानलाई सवै वडामा पु¥याउने उहाँले बताउनुभयो ।
जेष्ठ नागरिकको सहजताको लागि गाउँमै पुगेर भत्ता वितरणलाई गतवर्षदेखि नियमित गरिएको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार गत आ.व.देखि नै जेष्ठ नागरिक, असक्त र अपाङ्गता भएकाहरूको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण भइरहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा र नेपाल बैंकको आयोजनामा पालिकाभित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गर्दै गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले गाउँपालिकाको समन्वयमा सवै वडामा नेपाल बैंक पुग्ने बताउनुभयो । त्यहीँ वृद्धवृद्धालाई भत्ता वितरण गरिने प्रवक्ता थापाले बताउनुभयो । ‘बैंकका कर्मचारी तीन महिनामा एकपटक सबै वडामा पुग्दा जेष्ठ नागरिकले गाउँमै भत्ता पाउनुहुन्छ । हामीले बैंकका कर्मचारीलाई वडासम्म पुग्ने यातायात सुविधा दिएका छौं’, उहाँले भन्नुभयो, ‘बैंकले लाभग्राहीहरूलाई गाउँमै गएर वृद्धभत्ता वितरण गर्नुपर्नेछ ।’








































Comments